खेल

च्याम्पियन्स लिग: रियाल र सिटी सेमिफाइनलमा

स्पेनिस क्लब रियाल मड्रिडले प्रिमियर लिग क्लब लिभरपुललाई समग्रमा ३–१ ले हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउँदा बुधबारै प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई समग्रमा ४–२ ले स्तब्ध पार्दै अन्तिम चारमा प्रवेश गरेको छ।  

युरोपको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान सुरक्षित गर्न रियाल मड्रिडले लिभरपुलसँगको दोस्रो लेगमा उसैको मैदानमा गोलरहित बराबरी खेल्दा समग्रमा ३–१ ले विजयी भएको हो। यस्तै अर्को खेलमा सिटीले डर्टमन्डलाई २–१ ले पराजित गर्दै समग्रमा ४–२ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। विजयी रियालले फाइनल प्रवेशका लागि अब प्रिमियर लिगको अर्को क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने म्यानचेस्टर सिटीले फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पिएसजी) सँग प्रतिस्पर्धा गर्नेछ। यसअघि मंगलबार भएका खेलमा चेल्सीले पोर्चुगिज क्लब एफसी पोर्तो र पिएसजीले जर्मन क्लब बायर्न म्युनिखको चुनौतीलाई पन्छाउँदै अन्तिम चारमा स्थान बनाएका थिए।  

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको दोस्रो लेगमा रियाल केही रक्षात्मक रणनीतिका साथ मैदान उत्रिएको थियो। तर लिभरपुल नतिजाको खोजीमा थियो। लिभरपुल मिलेका केही राम्रा अवसर सदुपयोग गर्न असफल रहँदा पराजित हुन बाध्य भयो। रियालका लागि दोस्रो लेगमा बराबरीको नतिजा पर्याप्त हुने भए पनि घरेलु टोलीलाई पुनरागमनको खाँचो थियो। सोही अवस्थालाई ध्यानमा राखी मैदान उत्रिएको लिभरपुलले बल पोसेसनमा पकड जमाए पनि दोस्रो लेगमा फर्किन असफल रह्यो र अन्ततः लिभरपुल प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो। रियाल पछिल्ला पाँच भेटमा लिभरपुलविरुद्ध सफल रहेको छ। रियालले च्याम्पियन्स लिगमा सन २०१६ पछि पहिलो पटक गोलरहित बराबरी खेलेको हो। रियाल ३०औं पटक च्याम्पियन्स लिग पुग्न सफल भएको छ।

पराजित हुँदै प्रतियोगिताबाट बिदाइ भएको लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले हारले टोली कत्ति पनि विचलित नभएको र खेलाडी सरुवा बजारबाट नयाँ खेलाडीलाई संयोजन गर्दै अगाडि बढ्ने प्रतिक्रिया दिए। ‘आगामी प्रतियोगितालाई लक्ष्य राखेर खेलाडी सरुवा बजार जानेछौं,’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, ‘च्याम्पियन्स लिग युरोपको प्रतिष्ठित प्रतियोगिता हो। यसको होडबाट बाहिरिएका छौं। अबको लक्ष्य प्रिमियर लिगमा राम्रो गर्ने हो। हामी त्यसमा फोकस हुनुपर्छ।’

अर्को खेलमा सिटीले डर्टमन्डविरुद्ध पुनरागमन जित निकालेर अन्तिम चारको ढोका खुलेको हो। पहिलो लेगमा सिटीले डर्टमन्डलाई २–१ गोलअन्तरले पराजित गरेको भ्रमणकारी टोली सिटीले उच्च मनोबलका साथ खेलेको थियो। खेलको १५औं मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा सिटी खेलमा फर्किएर च्याम्पियन्स लिगमा अघिल्लो चरणको यात्रा तय गरेको हो। पछि परे पनि सम्हालिएको खेल प्रदर्शन गरेको सिटीका लागि ५५औं मिनेटमा रियाद माहरेजले पेनाल्टीमा गोल गरेकोे थियो। त्यसपछि खेलको ७५औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता उल्टाए। खेलमा फर्किन संघर्ष गरेको डर्टमन्ड बाँकी समयमा फर्किन सकेन र सिटीले बाजी मार्न सफल भयो। यस जितसँगै सिटी आठौं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।

प्रकाशित: ३ वैशाख २०७८ ०४:१७ शुक्रबार

च्याम्पियन्स लिग रियाल र सिटी सेमिफाइनलमा