खेल

गोपीचन्द्र र गौरीका उत्कृष्ट खेलाडी घोषित

सुदूरपश्चिम स्पोर्टस अवार्ड

खेलकुद पत्रकार मन्च कैलालीले आयोजना गरेको दोश्रो संस्करणको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्कीले वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंहले वर्ष महिला खेलाडीको सम्मान पाएका छन् । पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ५ हजार मिटरको मध्यम दूरीमा पहिलो स्वर्ण पदक जित्ने किर्तिमान बनाएका थिए । 

पुरुष ५ हजार मिटर दौडको निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण जितेका थिए । भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडि पार्दै उनी स्वर्ण जित्न सफल भएका हुन् । यसैगरि सिंहले १३ औं दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण, दुई रजत र तीन कास्य जितेकी थिईन् । एक सय, दुई सय र चार सय मिटर फ्रिस्टाईल तथा दुई सय मिटर ब्याकस्टेकमा गरी ऐतिहासिक चार स्वर्ण जित्ने किर्तिमान उनको नाममा छ । दक्षिण एसियाली खेलकुदमा सबैभन्दा वढी ९ पदक जितेर सर्वाधिक पदक जित्ने अर्को किर्तिमान पनि उनको नाममा छ ।  

यसैगरि भलिबलकी सरस्वती चौधरीले बर्षको लोकप्रिय खेलाडीको सम्मान पाएकी छन् । चौधरीले बनदेवी क्लव पिपुल च्वाइस अवार्ड प्राप्त गरेकी छन् । उनले पौडीकी गौरिका सिंह र क्रिकेटकी अन्जली चन्दलाई पछि पादै लोकप्रिय अवार्ड जित्न सफल भएकी हुन् । चौधरीले ४५ दशमलव ९ प्रतिशत भोट पाइन् भने सिंहले ४४ दशमलव ८५ र चन्दले ९ दशमलव २५ प्रतिशत भोट पाइन् । चौधरी नेपालको महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने टीमकी महत्वपूर्ण खेलाडी हुन् । उनले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई भलिबलमा ऐतिहासिक रजत पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिईन्। यसैगरि कुस्तीका राजेन्द्र चन्दले बर्ष प्रशिक्षक अर्वाड पाएका छन भने एथलेटिक्सका लक्ष्मीदत्त भट्टले लाइफ टाइम एचिभमेन्ट अवार्ड पाएका छन् । 

तीन दशकअघि चार पटक नेपाल च्याम्पीयन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माउने योगदान गरेवाफत भट्टले अवार्ड पाएका हुन् । तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटकी अन्जली चन्द वर्षको स्पेशल अवार्डबाट सम्मानित भएका छन् । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयशाले दुई स्वर्णपदक जितेर इतिहास रचेकी थिइन् । अन्जलीले १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पार्दा ह्याट्रिक सहित कुनै रन नदिएर ६ विकेट लिएकी थिइन् । उनले पहिलो ओभर मेडेन राख्दै तीन विकेट, दोस्रो ओभरको अन्तिम दुई बलमा दुई विकेट र तेस्रो ओभरको पहिलो बलमा विकेट लिएर कीर्तिमान रच्न सफल भएकी थिईन् ।  

यसैगरि १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा नेपाललाई पहिलो स्वर्ण जिताएकी कुस्तीकी संगीता धामी वर्ष युवा खेलाडीवाट सम्मानित भएकी छन् । ब्याडटमिन्टनका प्रिन्स दाहाल र कुस्तीकी सिवाङ्गी दुवे सुदूरपश्चिम आइकन घोषित भएका छन् । शुक्रवार एक समारोहको आयोजना गरेर खेलकुद मन्च कैलालीले उत्कृष्ट खेल प्रदर्शन गरेर योगदान गरेका सुदूरपश्चिम प्रदेशका खेलाडीलाई अर्वाड प्रदान गरेको हो ।

प्रकाशित: ७ चैत्र २०७७ ०३:१८ शनिबार

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड सुदूरपश्चिम प्रदेशका उत्कृष्ट खेलाडी