खेल

रामेछापमा राष्ट्रिय तेक्वान्दो एकेडेमी

रामेछापको खाँडादेवी गाउँपालिका–७ मा राष्ट्रिय तेक्वान्दो आइटिएफ एकेडेमी निर्माण भएको छ। खाँडादेखि गाउँपालिकास्थित गाल्पा बजारमा कुल एक करोड ११ लाख लागतमा एकेडेमी निर्माण भएको हो। केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा एकेडेमी निर्माण भएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय सदस्य एवम् रामेछाप तेक्वान्दो संघका अध्यक्ष रूपसिंह मोक्तानले जानकारी दिए।

एकेडेमीले कुल दुई रोपनी क्षेत्रफल ओगटेको छ। चेन्जिङ हल, बाथरुम, अफिस रूमलगायत सेवासुविधासहितको एकेडेमी निर्माण भएको छ। आइटिएफ तेक्वान्दो महासंघले पनि यस नवनिर्मित एकेडेमीलाई राष्ट्रिय एकेडेमीका रूपमा मान्यता दिएको छ। शनिबार एक कार्यक्रमबीच खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर तामाङ, दोरम्बा गाउँपालिकाका प्रमुख कमानसिंह मोक्तान र सुनपातीका गाउँपालिका प्रमुख धावा लामालगायतले उक्त एकेडेमीको उद्घाटन गरेका थिए।

सो अवसरमा खाँडादेवी गाउँपालिकाकी उपप्रमुख मखमली श्रेष्ठ, खाँडादेवी गाउँपालिका–७ का अध्यक्ष असलसिंह मोक्तान, एसियाली आइटिएफ तेक्वान्दो महासंघका कार्यकारी सदस्यसमेत रहेका नेपाल आइटिएफ महासंघका अध्यक्ष अञ्जन धमलालगायतको उपस्थिति थियो। तीन गाउँपालिका खाँडादेवी, दोरम्बा र सुनपातीको संगम स्थल गाल्पा बजारमा एकेडेमी निर्माण गरिएको छ।  

तीनै गाउँपालिकाले प्रदेश सरकार र केन्द्र सरकारलाई गाल्पामा राष्ट्रिय एकेडेमी निर्माणका लागि संयुक्त प्रस्ताव पेस गरेका थिए। सोही अनुरूप तीनै तहका सरकारको प्रयासमा एकेडेमी निर्माण भएको रामेछाप आइटीएफ तेक्वान्दोका अध्यक्ष रूपसिंह मोक्तानले जानकारी दिए। रामेछापमा करिब दुई सय खेलाडीले प्रत्यक्ष रूपमा एकेडेमीमा प्रशिक्षण गर्न पाउनेछन्।

उद्घाटनका अवसरमा खाँडादेवी गाउँपालिका प्रमुख प्रेमबहादुर तामाङले खेल क्षेत्र एकताको प्रतीकसमेत भएकाले तीनवटै गाउँपालिकाको संयुक्त प्रयासमा एकेडेमी निर्माण गरिएको बताए। दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले तीनवटै गाउँपालिकाले खेलकुद केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले गाल्पामा तेक्वान्दो एकेडेमी निर्माण गरिएको बताए।

सुनपाती गाउँपालिका प्रमुख धावा लामाले खेलकुद क्षेत्र विकासका लागि आफ्नो गाउँपालिका सदैव तयार रहेको स्पष्ट पारे। दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका अञ्जन धमलाले स्थानीय सरकार र यहाँका जनप्रतिनिधिले आइटिएफ तेक्वान्दोको विकास लागि गरेको योगदानप्रति धन्यवाद प्रकट गर्दै यो एकेडेमी निर्माणले प्रतिभावान् खेलाडी उत्पादनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे।

शनिबार नै एकेडमी निर्माणका क्रममा योगदान पुर्‍याउने खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, वडा–७ का अध्यक्ष असलसिंह मोक्तान, दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान, सुनपाती गाउँपालिका अध्यक्ष धावा लामा र महासंघका अध्यक्ष अन्जन धमलालगायतलाई सम्मान गरिएको थियो। नेपाल आइटिएफ तेक्वान्दो महासंघको तत्वावधानमा राष्ट्रिय रेफ्री सेमिनारसमेत आयोजना भएको थियो।

सातै प्रदेश र दुई विभाग सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल आर्मीका गरी कुल ८० जनाले रेफ्री प्रशिक्षण कोर्स पूरा गरेका थिए।महासंघका उपाध्यक्ष एवम् रेफ्री कमिटीका प्रमुख प्रवीणकुमार कार्कीले एक दिने कार्स लिएका थिए। एकेडेमी उद्घाटनको अवसरमा जिल्ला स्तरको प्रतियोगितासमेत भएको थियो।

चार विधाका प्याटर्न र फाइटतर्फ आठ तौलसमूहमा प्रतिस्पर्धा भएका थिए। उक्त प्रतियोगितामा महिलामा करिसा योन्जन र पुरुषमा निर्मल लामा उत्कृष्ट खेलाडी चयन भए। गाल्पा तेक्वान्दो डोजाङ १३ स्वर्ण, १२ रजत र १० कांस्यसहित टिम च्याम्पियन हुँदा सुनपातीका तेक्वान्दो डोजाङ आठ स्वर्ण, ८ रजत र १० कांस्यसहित दोस्रो भयो।

प्रकाशित: २३ फाल्गुन २०७७ ०५:०५ आइतबार

रामेछाप राष्ट्रिय तेक्वान्दो एकेडेमी