खेल

कास्कीको भिण्डाबारीमा एन्फा टेक्निकल सेन्टर बनाउने योजना

कास्कीको माछापुच्छ«े गाउँपालिका–६ भिण्डाबारीमा एन्फा टेक्निकल सेन्टर बन्ने भएपछि स्थानीय खुसी भएका छन् । अखिल नेपाल फुटबल महासंघ (एन्फा) ले भिण्डाबारीमा एन्फा टेक्निकल सेन्टर बनाउन थालेको हो ।  

आफैले भोगचलन गर्दै आएको जग्गामा निर्माण गरिन लागेको टेक्निकल सेन्टरबारे सोधखोज र सल्लाह, सुझाव नमागेको प्रति भने स्थानीय असन्तुष्ट छन् । आयोजनास्थलमा भएको ‘एन्फा टेक्निकल सेन्टरको निर्माण तथा सञ्चालनका लागि गर्न लागिएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमाथि सार्वजनिक सुनुवाई’ कार्यक्रममा सहभागि स्थानीयले आफुहरुसँग सल्लाह नगरी आयोजना बनाउन थालेको भन्दै चिन्ता जनाए ।  

स्थानीय एकनारायण अधिकारीले आयोजना गाउँमा आउनु गौरवको विषय भएपनि गाउँललाई थाहै नदिएको भन्दै आपत्ति जनाए । ‘गाउँलेले भोगचलन गर्दै आएको तर दर्ता छुटेका कारण लालपुर्जा नपाएको जग्गामा आयोजना बन्दा पनि थाहा नदिनु अन्याय हो,’ उनले भने, ‘जग्गादाताको मानमर्दन नहोस् ।’ उनले सेन्टरलाई आवश्यक कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिन आग्रह गरे ।

स्थानीय ढाकाराम दाहालले पनि गाउँमा बन्न थालेको सेन्टरबारे आफुहरु अनभिज्ञ रहेको बताए । ‘गाउँमा विकास आएको छ, यो राम्रो हो । हामीले नै यसको फाईदा नलिएपनि छोरानातीले त लेलान,’ उनले भने ।  

माछापुच्छे« गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले आयोजना बन्दा विरोध भन्दापनि सहयोग गरेर सफल बनाउनुपर्ने बताए । आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनबारे अध्ययन गरिरहेको पपुलर ईन्भायरोमेन्टल सर्भिस प्रालिका केशव अधिकारीले आयोजनाबारे जानकारी गराए । उनले ८३ करोड रुपैयाँको लागतमा बन्ने एन्फा टेक्निकल सेन्टर चार चरणमा गरेर चारवर्षमा सम्पन्न हुने बताए । एन्फाले २५२ रोपनी क्षेत्रफलमा टेक्निकल सेन्टर बनाउने योजना छ । पहिलो वर्षमा १७ करोड रुपैयाँको पूर्वाधार निर्माण हुने उनको भनाई छ । डिजाईन अनुसार टेक्निकल सेन्टर बनेमा यो एसियाकै उत्कृष्ट टेक्निकल सेन्टर बन्ने उनले बताए ।  

एन्फाका उपाध्यक्ष कृष्ण थापाले टेक्निकल सेन्टर नेपालको फुटबल र स्थानीय जनताको भविस्यसँग जोडिएको बताए । 

प्रकाशित: ४ पुस २०७७ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App