खेल

सिकागो ओपनमा नेपाललाई पदक

नेपालका चार तेक्वान्दो खेलाडीले  सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेका छन्।

ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा  सम्पन्न अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका सन्दीपा अमगाईं, सञ्जीव नेपाली, राजु नगरकोटी र प्रेमकुमार दर्नालले पुम्सेतर्फ विभिन्न उमेरसमूहमा पदक जितेका हुन्। सन्दीपा र सञ्जीवले दुई पदक जित्दा राजु र प्रेमकुमारले १/१ पदक जितेका थिए। सन्दीपाले महिला ३० वर्षमुनि र सञ्जीवले ३१ वर्षदेखि ४० वर्ष उमेरसमूहको स्पोटर््स पुम्से र ट्रेडिसनल (परम्परागत) पुम्सेमा पदक जितेका थिए। सन्दीपाले ट्रेडिसनल पुम्सेमा रजत पदक जित्दा अमेरिकाकी डिना पाजाजेटसँग पराजित भइन्। डिनाले ५.८३३ अंक र सन्दीपाले ५.६६७ अंक प्राप्त गरेका थिए।  

यसै उमेरसमूूहमा अमेरिकाकै डाई लिन हुमल तेस्रो स्थानमा सीमित भइन्। स्पोर्ट्स पुम्सेमा भने सन्दीपा तेस्रो स्थानमा खुम्चिन्। यस विधामा अमेरिकाकी बेट्रिज बेलिसेन पहिलो हुँदा फिलिपिन्सकी युनाइस इन्टे दोस्रो भएकी थिइन्। सञ्जीव नेपालीले भने स्पोर्ट्स पुम्से र ट्रेडिसनल पुम्से दुवैमा रजत पदक जितेका थिए। उनले स्पोटर््स पुम्सेमा रजत पदक जित्दा अमेरिकाका गिलबर्ट जामेनासँग पछि परे। ट्रेडिसनल पुम्सेमा भने उनी फिलिपिन्सका क्रिस्टी मघिरासँग पछि पर्दा दोस्रोमा खुम्चिए। मघिराले ५.९० अंक र सञ्जीवले ५.८६अंक ल्याए।

त्यसै गरी नेपालका राजुु नगरकोटीले ५० वर्षमुनि स्पोर्ट्स पुम्सेमा रजत पदक जित्दा नेपालकै प्रेमकुमार दर्नाल कांस्य पदकमै सीमित भए। यस विधामा पहिलो भएका अमेरिकन खेलाडी एन्ड्यु्र एसिसले ६.१० अंक र राजुले ५.४० अंक ल्याएका थिए। प्रेमकुमारले भने ५.१०० अंक ल्याए। उक्त च्याम्पियनसिपमा आयोजक राष्ट्र अमेरिका र नेपालसहित क्यानडा, फिलिपिन्स र स्लोभाकियाका करिब चार सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २३ मंसिर २०७७ ०१:०९ मंगलबार

अनलाइन तेक्वान्दो च्याम्पियनसिप नेपाललाई पदक