खेल

ऐतिहासिक खेलको प्रतीक्षामा कोसोभो

क्याप्शन

(एएफपी)– धेरैका लागि यो एउटा फुटबल म्याच मात्र हो, तर कोसोभोका लागि यो एउटा खेलले धेरै अर्थ राख्छ। बिहीबार नर्थ मेसेडोनियाविरुद्ध एसकोब्जेमा हुने खेलले कोसोभोलाई निर्धारित तालिकाभन्दा एक वर्षपछि सरेको युरो कप २०२० को सँघारमा मात्र पु-याउँदैन। कोसोभोका जनताका लागि यो एक भएर आफूहरूलाई विश्वसामु स्वतन्त्र राष्ट्रका रूपमा उभ्याउनका लागि पनि एक महत्वपूर्ण क्षण बन्न सक्छ। कोसोभोले सन् २००८ मा सर्बियाबाट छुट्टिएर आफूहरू एक स्वतन्त्र राष्ट्र भएको घोषणा गरेको थियो। युरो प्ले अफ सेमिफाइनलमा नर्थ मेसेडोनियाविरुद्धको जितले कोसोभोलाई प्ले अफको फाइनलमा पु¥याउनेछ।  

‘म युरो कपमा छनोट हुने उत्कृष्ट २४ राष्ट्रमध्ये मेरो देशको झन्डा पनि फहराएको हेर्न चाहन्छुुु’, २३ वर्षे बेसार्ट मोरिनाले भने। कोसोभोका सञ्चारमाध्यमले यस खेल ऐतिहासिक हुने बताउँदै आएका छन्। त्यस्तै कोसोभोका मुख्य प्रशिक्षक ६९ वर्षे बर्नाड चालेन्ड्स पनि नर्थ मेसेडोनियाविरुद्ध हुने खेलले धेरै अर्थ राख्ने बताउँछन्। ‘हामी नयाँ राष्ट्र हौं र राष्ट्रिय फुटबल टोलीलाई यहाँका जनताले धेरै मान्छन् किनभने फुटबलको माध्यमबाट नै हामीले आफूूलाई एक स्वतन्त्र राष्ट्रका रूपमा उभिने मौका पाउनेछौं,’ क्लान्डेसले भने।  

शरणार्थी टोली

सर्बिया र कोसोभोबीच सन् १९९८ देखि जुन १९९९ सम्म युद्ध भएको थियो। खेलकुदका कारण पनि कोसोभो सर्बियासँग रुष्ट छ। कारण सर्बियाले कोसोभोलाई २०१६ मा युइएफए र फिफाको सदस्य बन्न रोक्ने भरपूर प्रयास गरेको थियो। तर, सर्बियाको त्यो प्रयास असफल भयो र कोसोभोले फिफा तथा युइएफएको नयाँ सदस्यता प्राप्त ग¥यो। कोसोभो छनोट चरण खेल्ने नयाँ राष्ट्र बन्यो।

‘हामी नयाँ राष्ट्र हौं र राष्ट्रिय फुटबल टोलीलाई यहाँका जनताले धेरै मान्छन् किनभने फुटबलको माध्यमबाट नै हामीले आफूूलाई एक स्वतन्त्र राष्ट्रका रूपमा उभिने मौका पाउनेछौं।’ –कोसोभोका प्रशिक्षक बर्नाड चालेन्ड्स

कोसोभोको राष्ट्रिय टोलीमा छनोट भएका २४ खेलाडी त्यहाँको स्थानीय लिगबाट छनोट भएर आएका थिए। अहिले केही खेलाडी सिरी ‘ए’ डच लिग, बुन्डेसलिगा र फ्रेन्च लिग वान क्लबबाट समेत खेल्छन्। तीमध्ये अधिकांश खेलाडी शरणार्थी शिविरबाट आएका हुन्। यी खेलाडीसँग स्विडेन अथवा स्विट्जरल्यान्डबाट पनि खेल्ने अवसर थियो, तर उनीहरूले कोसोभोबाट खेल्ने निर्णय लिए। टोलीका केही खेलाडी युरोपका शीर्ष लिग खेल्ने क्षमता राख्दछन्। कप्तान अमिर राहमानी नेपोलीबाट खेल्छन् भने समिर उज्कनी र मरजिम भोज्वोडा दुवै टोरिनोमा आबद्ध छन्।  

‘धेरै खेलाडीले शीर्ष क्लबबाट राम्रो सम्झौता पाए, तर तीमध्ये कसैले पनि आफ्नो विगत बिर्सिएका छैनन् र उनीहरूलाई कोसोकोभो राष्ट्रिय जर्सीमा खेल्नुको महŒव पनि राम्रोसँग थाहा छ,’ चालेन्ड्सले भने। कोसोभोले २०१८ को रूस विश्वकप छनोटमा १० खेलमा मात्र ३ गोल गरेको थियो। यस क्रममा कोसोभोले फिनल्यान्डसँग १–१ को बराबरी खेल्दै छनोट चरणकै एक मात्र अंक बटुलेको थियो। युरो छनोटमा कोसोभोले खेल्ने भएपछि उनीहरूलाई युरोबाहिरको राष्ट्रका रूपमा पनि लिइएको थियो। त्यसपछि खेलिएको १५ मैत्रीपूर्ण खेलमा कोसोभोले अपराजित यात्रा कायम राख्दै आफ्नो क्षमता प्रमाणित गरेको थियो। २०१९ सेप्टेम्बरमा भने टोली इङ्ल्यान्डसँग ५–३ ले निराश भएको थियो। कोसोभोले युरो कप २०२० को छनोटमा तेस्रो स्थानमा रहन सफल भएको थियो।  

बुल्गेरिया र मोन्टेनेग्रोभन्दा माथि रहँदै कोसोभो प्ले अफमा छनोट भएको थियो। ‘चालेन्ड्सले टोलीमा व्यापक परिवर्तन ल्याएका छन्,’ कोसोभो फुटबल संघ (एफएफके) का महासचिव इरोल सालिहुले भने, ‘खेलाडीहरूको मनोबल बढेको छ, सबै अनुशासित छन् र सबैको आत्मविश्वास पनि उच्च छ।’ नर्थ मासेडोनियाविरुद्धको खेल जिते युरो कपमा छनोट हुने कोसोभोले प्लेअफ फाइनलमा जर्जिया र बेलारूसबीचको विजेताको पनि चुनौती पार गर्नुपर्ने हुन्छ।

प्रकाशित: २२ आश्विन २०७७ ०१:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App