खेल

तलावाजका ब्याट्सम्यान असफल

सन्दीप लामिछानेको बलमा आउटभएपछि बार्बडोसका एस्ले नर्स। तस्बिर: सिपिएल

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा लगातार उत्कृष्ट प्रदर्शन गरे पनि उनको टोली जमैका तलावाजले बुधबार तेस्रो हार बेहोरेको छ।

ट्रिनिडाडस्थित क्विन्स पार्क ओभलमा सन्दीपले दुई विकेट लिएको खेलमा तलावाज बार्बडोस ट्रिडेन्ट्ससँग ३५ रनले पराजित भएसँगै लिगमा तेस्रो हार बेहोरेको छ। सन्दीपको टोली तलावाज पाँच खेलमा तेस्रो हार बेहोर्दै अंकतालिकामा पुछारबाट दोस्रोमा छ। सन्दीपले किफायती बलिङ गर्दै दुई विकेट लिएका थिए। चार ओभरमा सन्दीपले १६ रन खर्चिंदा एक बाउन्ड्री मात्र बेहोरेका थिए। उनीसँगै अर्का अफगानी स्पिनर मुजिब उर रहमानले तीन विकेट लिँदै लय निरन्तरता दिए पनि जमैकाका ब्याट्सम्यानले अपेक्षित ब्याटिङ गर्न नसक्दा तेस्रो हार बेहो-यो।  

यता, केयल मायरको ८५ रनको आक्रामक ब्याटिङप्रेरित बार्बडोसले भने लगातार तेस्रो हारको शृंखलामा पूर्णविराम लगाउन सफल भयो। मायरले कुल आठ छक्का प्रहार गर्दा कार्लोस ब्राथवेटको ओभरमा मात्र चार छक्का हिर्काएका थिए। अन्य ब्याट्सम्यानले खासै उल्लेखनीय रन बटुल्न नसके पनि डिफेन्डिङ च्याम्पियन बार्बडोसले पूरै ओभर खेल्दै १ सय ४९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेका थियो। मुजिबले तीन विकेट लिन १४ रन मात्र खर्चिंदा सन्दीपले पनि उनलाई साथ दिएका थिए। जमैकाका बलर ब्राथवेट भने महँगा साबित हुँदा तीन ओभरमा ४५ रन खर्चिए। मुजिब कुल १२ विकेटका साथ सर्वाधिक विकेट लिने सूचीमा पहिलो स्थानमा रहँदा सन्दीप पाँचौं स्थानमा छन्।  

सन्दीपले पाँच खेलबाट ७ विकेट लिएका छन्। घुँडामा चोटका कारण आन्द्रे रसेलबिना उत्रिएको जमैकाका बलरले साथ दिए पनि ब्याट्सम्यानले अपेक्षित ब्याटिङ गर्न सकेनन्। जमैकाले २७ रनमा चार विकेट गुमाउँदा जेसन होल्डर र मिचेल सान्टनरले समान २÷२ विकेट लिएका थिए। एनक्रुमह बोनरको ३१ रन नै जमैकाका लागि सर्वाधिक व्यक्तिगत योगदान रह्यो। बार्बडोसका रसिद खान र रेमन रेइफरले पनि २/२ विकेट निकाल्दै होल्डर र सान्टनरलाई साथ दिए र सन्दीपको टोली जमैका तलावाजलाई तेस्रो हार चखाए।

प्रकाशित: १२ भाद्र २०७७ ०१:१७ शुक्रबार

क्यारेबियन प्रिमियर लिग