खेल

मालीलाई खेलाडी कोषको सहयोग

भलिबल खेलाडी प्रतिभा मालीलाई चेक हस्तान्तरण गर्दै कोषका सदस्यसचिव दीपक श्रेष्ठ। तस्बिर: नागरिक

उपचार गराइरहेकी नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य प्रतिभा मालीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले आर्थिक सहयोग प्रदान गरेको छ।

गत वर्षको पुस १० गते सम्पन्न पाँचांै आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलका क्रममा घाइते भएकी प्रतिभालाई खेलाडी कल्याणकारी कोषले दुई लाख रुपैयाँ प्रदान गरेको हो। सातदोबाटोस्थित अर्थोप्लास्ट रिहाब सेन्टरमा पुगेर कोषका सदस्यसचिवसमेत रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले प्रतिभालाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। प्रतिभाले उक्त रिहाब सेन्टरमा दुई महिनादेखि दैनिक थेरापी गराउँदै आएकी छन्। फिट नभसम्मका लागि प्रतिभाले त्यहाँ दैनिक थेरापी गराउनुपर्नेछ।  

त्यति बेला गहिरो चोट लागेपछि उनी लामो समय मैदान बाहिर रहनुपरेको थियो। उनको खुट्टाको मांसपेशी च्यातिएपछि शल्यक्रियासमेत गरिएको थियो। नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक दिलाउन सफल प्रतिभा चोटका कारण करिब एक वर्ष मैदानबाहिर रहनेछिन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालले प्रतिभाको सम्पूर्ण उपचार खर्च राखेपले बेहोर्ने बताएका थिए। तथापि राखेपले सम्पूर्ण खर्च बेहोर्ने प्रक्रिया अगाडि नबढाए पनि दुई महिनाअगाडि पाँच लाख रुपैयाँ उपचार खर्च प्रदान गरेको थियो।  

कोषका सदस्यसचिव दीपक श्रेष्ठले प्रतिभाको उपचार खर्च बढ्ने भएकाले कोषबाट रकम सहयोग गरिएको बताए। वि.सं. २०६८ सालमा मन्त्रिपरिषद्बाट पास गरेर एक करोड रुपैयाँको राष्ट्रिय खेलाडी कल्याणकारी कोष स्थापित गरिएको थियो। ‘राखेपले पनि उपचारमा सहयोग गरेको छ, तर उनको उपचार प्रक्रिया लामो हुने र खर्च धेरै लाग्ने भएकाले कोषबाट सहयोग गरिएको हो,’ श्रेष्ठले भने। उक्त कोषको अध्यक्षमा राखेप सदस्यसचिव र सदस्यसचिवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष रहने व्यवस्था छ। सोही कोषबाट समस्यामा परेका खेलाडीलाई आवश्यक प्रक्रिया पूरा भएमा आर्थिक सहयोग प्रदान गर्दै आइरहेको खेलाडी संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: ६ श्रावण २०७७ ०३:०२ मंगलबार

प्रतिभा माली महिला भलिबल टोली