खेल

सर्वकालीन उत्कृष्ट खेलाडी

एन्ड्रिस्क्युको आशा

युएस ओपन उपाधि रक्षाको लक्ष्यमा रहेकी टेनिस स्टार बियान्सा एन्ड्रिस्क्युले आफू एक दिन सर्वकालीन उत्कृष्ट खेलाडी बन्ने आशा व्यक्त गरेकी छिन्।  

२० वर्षीया एन्ड्रिस्क्युले गत वर्ष डिफेन्डिङ च्याम्पियन सेरेना विलियम्सलाई निराश पार्दै ग्रान्ड स्लाम जित्ने पहिलो क्यानेडियन खेलाडी बनेकी थिइन्। उनी अझै सफलता हात पार्न चाहन्छिन्।

उनको लक्ष्य सामान्य छ, ‘विश्वको उत्कृष्ट खेलाडी बनी क्रमशः कीर्तिमान भंग गर्दै जाने।

‘म सेरेना विलियम्सको कीर्तिमान तोड्न चाहन्छु। साथै मार्गरेट कोर्टको पनि,’ उनले भनिन्, ‘म ठूलाठूला सपना देख्न रुचाउँछु। यसले मलाई ऊर्जा दिन्छ । म अहिलेका सफलतालाई निरन्तरता दिँदै थप सफलता हात पार्न चाहन्छु।

एन्ड्रिस्क्युका लागि क्रिस इभर्ट, विलियम्स र कोर्टको कीर्तिमान तोड्न सहज भने छैन। इभर्ट, विलियम्स र कोर्टले क्रमश १८,२३ र २४ पटक ग्रान्ड स्लामको उपाधि जितेका छन्। तर गत वर्ष युएस ओपनको उपाधि जितेपछि भने एन्ड्रिस्क्युले आफू पनि कीर्तिमानको दौडमा रहेको संकेत गरेकी थिइन्।

युवा खेलाडीलाई ठूलो सफलताको दबाब थेग्न सहज नहुन पनि सक्छ। उनले यसअघि पनि आफू दबाबमा खेल्दा सधैं उत्कृष्ट नतिजा ल्याउने गरेको बताउँदै आएकी छिन्।

‘म आफैं भने छिटोभन्दा छिटो कोर्ट फर्कन र उपाधि रक्षा गर्न आतुर छु। यस अवधिमा सबै खेलाडीले राम्रो तयारी गरिरहेका होलान्, तर पनि म मेरो उत्कृष्ट लयलाई निरन्तरता दिनेमा ढुक्क छु। आशा छ, टेनिस खेल छिटो पुनः सुचारु हुनेछ।’

‘मैले जे गर्छु, शतप्रतिशतभन्दा बढी दिन्छु र  सधैं उत्कृष्ट बन्न चाहन्छु,’ उनले भनिन्, ‘मैले टेनिस करियरका लागि धेरै मिहिनेत गरेको छु र धेरै कुरा गुमाएको पनि छु, त्यसैले पनि म उत्कृष्ट बन्न चाहन्छु।’

‘त्यसैले उनीहरू सबैको कीर्तिमान तोड्नु मेरा लागि महत्वपूर्ण छ तर थाहा छैन यी सफलता मेरो हातमा छन् वा छैनन्,’  उनले थपिन्।

टेनिसमा पुनरागमन
अन्य खेलाडीजस्तै एन्ड्रिस्क्यु पनि कोरोना भाइरस महामारीका कारण प्रतियोगिताहरू सारिएपछि कोर्टमा देखिएकी छैनन्। यद्यपि उत्तरी अमेरिकामा अवस्था सामान्य बन्दै गइसकेको छ र युएस ओपन अगस्ट ३१ बाट सुरु हुने तालिका छ। एन्ड्रिस्क्यु आफ्नो उपाधि रक्षा गर्न चाहन्छिन्। शीर्ष खेलाडीहरूले प्रतियोगिता स्वाभाविक अवस्थामै सुचारु गर्न आग्रह गरिरहँदा उनले भने बन्द कोर्टमा खेल हुँदा सुरक्षित हुने र सरकारी निर्देशनको पनि पालना हुने बताउँदै आएकी छिन्।

‘मलाई तत्काल टेनिस खेल सुरु हुन्छ जस्तो लाग्दैन। सुरु भएको खण्डमा सबै खेल बन्द रंगशालामा हुनेछन्,’ उनले भनिन्, ‘म आफैं भने छिटोभन्दा छिटो कोर्ट फर्कन र उपाधि रक्षा गर्न आतुर छु। यस अवधिमा सबै खेलाडीले राम्रो तयारी गरिरहेका होलान् तर पनि म मेरो उत्कृष्ट लयलाई निरन्तरता दिनेमा ढुक्क छु। आशा छ, टेनिस खेल छिटो पुनः सुचारु हुनेछ।’

युएस ओपन २०२०
टेनिस प्रतियोगिता ढिलोचाँडो सुरु हुनेमा दुविधा छेैन तर टेनिस खेल पुनः सुचारु हुँदा त्यो पहिलेको भन्दा भिन्न रहनेछ। सबैभन्दा फरक भनेको खेल हेर्न दर्शकदीर्घामा दर्शक भने हुने छैनन् । एन्ड्रिस्क्युले बन्द रंगशालामा खेल्नु नयाँ अनुभव हुने र त्यसलाई स्वीकार गर्दै जानुपर्ने बताइन्।

गत वर्ष एन्ड्रिस्क्युले पहिलो पटक ग्रान्ड स्लामको उपाधि जित्दा समर्थकले उनको सफलतामा ठूलो भूमिका खेलेका थिए।

‘समर्थकको अगाडि खेल्दा छुट्टै ऊर्जा मिल्छ, सबै खेलाडीलाई। म भन्न रुचाउँछु कि म दबाबमा सधैं राम्रो प्रदर्शन गर्छु,’ उनले भनिन्, त्यसैले म भन्छु समर्थक मेरो सफलताका सारथि हुन्। यस पटक कोर्टमा नभए पनि समर्थकहरू घरमै खेल हेर्नेमा म ढुक्क छु। हामी त्यसैअनुरूप तयार हुनुपर्छ।’

प्रकाशित: १७ असार २०७७ ०४:४० बुधबार

बियान्सा एन्ड्रिस्क्यु टेनिस स्टार