खेल

उदयपुर स्पोर्ट्स विजयी

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आयोजित सर्वाधिक राशिको पुरुष भलिबल प्रतियोगिताको उपाधि उदयपुर स्पोर्ट्स क्लब गाईघाटले चुमेको छ। उदयपुरकै बेलका नगरपालिका रामपुरलाई पछि पार्दै उदयपुरले प्रतियोगिताको उपाधि चुमेको हो। ‘खेल खेलौँ स्वस्थ रहौं, खेलको माध्यमद्वारा भाइचाराको विकास गरौं’ भन्ने नाराका साथ सछितापोखरीको तृतीयभन्ज्याङ खेलमैदानमा आयोजित प्रतियोगितामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका तेस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी ‘सी’ सान्त्वना भए्।

यस्तै, महिला भलिबल प्रतियोगीतातर्फ दिप्रुङ–१ याम्खा प्रथम, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका दोस्रो, ऐसेसुखर्क गाउँपालिका तेस्रो र उदयपुर स्पोर्ट्स क्लब सान्त्वना भएको खेल संयोजक पूर्णबहादुर खड्काले बताए। प्रतियोगीतामा पुरुषतर्फ उदयपुर स्पोर्ट्सका हरि अधिकारी उत्कृष्ट खेलाडी र बेलका नगरपालिकाका समीप श्रेष्ठ अनुशासित खेलाडी घोषित भए। महिलातर्फ दिप्रुङ–१ याम्खाकी कुमारी कुँवरले उत्कृष्ट खेलाडी तथा मानेभन्ज्याङकी चन्द्रकुमारी बस्नेतले अनुशासित खेलाडीको पुरस्कार पाए।

पुरुष भलिबल प्रतियोगितामा प्रथमले नगद १ लाख ५० हजार, दोस्रोले ८० हजार, तेस्रोले ४० हजार र सान्त्वनाले नगद २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। यस्तै, महिला भलिवल प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो टोलीलाई  ६०, ४०  र ३० हजार एवं सान्त्वनालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०७६ ०१:२२ बिहीबार

खोटाङ भलिबल उपाधि