खेल

पुलिस उपाधिनजिक

थ्री स्टारका संजोक राई (नीलो) लाई छक्याएर बल अगाडि बढाउने प्रयासमा पुलिसका खेलाडी। तस्बिर : नागरिक

पोखरा -  विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको उपाधिनजिक पुगेको छ। पोखरा रंगशालामा बुधबार  थ्री स्टार क्लबविरुद्ध ३–० को सहज जित निकाल्दै पुलिस आहा ! रारा १८औं संस्करणको फाइनलमा प्रवेश गरेको हो। १७औं पटक आहा ! रारा गोल्डकपमा सहभागी पुलिस १०औं पटक फाइनलमा पुग्ने पहिलो टोली हो। यसअघि पुलिस ९ पटक फाइनल पुगेकोमा क्याराभान गोल्डकपसहित ६ पटक उपाधि जितिसकेको छ। पुलिसले क्याराभान गोल्डकप तथा आहा ! रारा गोल्डकपको पहिलो, छैटौं, सातौं, आठौं र १६औं संस्करणको उपाधि जितिसकेको छ।

आहा ! रारा गोल्डकपमा छैटौं पटक पुलिस र थ्री स्टार बुधबार आमनेसामने हुँदा पुलिसले बाजी मार्‍यो। सुरुदेखि नै एकतर्फी पेलेको पुलिसले आठौं मिनेटमै गोलको खाता खोल्यो। मैदानको दायाँ साइडबाट रवि पासवानले मिलाइदिएको पासमा कप्तान भरत साहले वान टच प्रहार गर्दै जाली चुमाए। पहिलो हाफमा पटक/पटकको अवसर गुमाएको पुलिसले दोस्रो हाफको छैटौं मिनेटमा दोस्रो गोल गर्‍यो। मैदानको दायाँ साइडबाट २ जनालाई छक्याउँदै बल अगाडि बढाएका नीरकुमार राईले अप्रत्याशित गोल गरे। उनले कर्नर लाइनबाट प्रहार गरेको कर्भ बल विपक्षी गोलकिपरले पन्च गरेर रोक्ने प्रयास गर्दा गोलमा परिणत भएको थियो। पुलिसले तेस्रो गोल भने ७१औं मिनेटमा गर्‍यो। यो पटक पनि नीरकुमार राईले नै गोल गरे। मैदानको करिब मध्यभागबाट एक्लै छक्याउँदै अगाडि बढाएका तेज तामाङले पेनाल्टी एरियामा मिलाइदिएको पासमा आकर्षक गोल गरे।

१७औं पटक आहा ! रारा गोल्डकपमा सहभागी पुलिस १०औं पटक फाइनलमा पुग्ने पहिलो टोली हो। यसअघि पुलिस ९ पटक फाइनल पुगेकोमा क्याराभान गोल्डकपसहित ६ पटक उपाधि जितिसकेको छ।

पुलिसले १२औं मिनेटमा अग्रता दोब्बर पार्ने मौका गुमायो। हेम तामाङले डी एरियानजिकैबाट गरेको कडा प्रहारमा विपक्षी गोलकिपर वाधक बने। दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा पनि अन्जन राई गोल गर्न चुके। उनले गरेको कडा प्रहार फस्ट बार रहुँदै बाहिरियो। थ्री स्टारले २०औं मिनेटमा गोलको खाता खोल्दै बराबरी गर्ने अवसर गुमायो। सुशील राईको पासमा आशिष राईले पेनाल्टी एरियानजिकबाट गरेको कडा प्रहार डिफेन्डर सन्तोष हेमरुङले क्लियर गरे। ३४औं मिनेटमा अनन्त तामाङ गोल गर्न चुके। मिक्चेन तामाङको कर्नरमा सुसन श्रेष्ठले हानेको हेडरलाई अनन्तले पोस्टको दिशा दिन सकेनन्। उनले प्रहार गरेको बललाई विपक्षी गोलकिपरले रोके। ६३औं मिनेटमा अनन्तले हानेको भली प्रहारमा सञ्जोक राईको हेडर विपक्षी गोलकिपरले पन्च गरेर बचाए। ७४औं मिनेटमा दीपेश घलेले हानेको प्रहारमा पेनाल्टी एरियामा रहेका मिक्चेन तामाङको हेडर फितलो हुँदा फस्ट बार हुँदै बाहिरियो। बुधबारको खेलमा पुलिसका लागि २ गोलको योगदान दिने नीरकुमार राई म्यान अफ दी म्याच घोषित भए।

बिजयी नेपाल पुलिस क्लवका प्रशिक्षक अनन्तराज थापाले आफ्नो टोलीलाई विपक्षी जो भए पनि प्रदर्शनमा खास फरक नहुने बताए। ‘हाम्रो टोलीले आज उत्कृष्ट प्रदर्शन गर्‍यो, थ्री स्टारका विदेशी खेलाडी नहुँदा पनि त्यसको फाइदा भयो’, उनले भने। पराजित थ्री स्टारका प्रशिक्षक मेघराज केसीले नयाँ खेलाडीलाई अवसर दिएकाले हारमा आफ्नो चित्त दुःखाई नरहेको बताए। थ्री स्टार उत्कृष्ट टोली हो,’ उनले भने, ‘नयाँलाई अवसर दिँदा पराजित हुनुपरेकोमा चित्त दुःखाइ छैन।’ प्रतियोगिताअन्तर्गत बिहीबार हुने अन्तिम सेमिफाइनल त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दिबीच हुनेछ।

प्रकाशित: २९ फाल्गुन २०७६ ०१:०९ बिहीबार

उपाधि विभागीय_टोली रंगशाला