खेल

बेटिससँग रियाल निराश

मड्रिड – एक साताअघि एल क्लासिकोमा बार्सिलोनामाथि सहज जितका साथ रबाफ देखाएको रियाल मड्रिडले आइतबार भने रियाल बेटिससँग निराश हुँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। ला लिगाअन्तर्गत आइतबार भएको एक मात्र खेलमा रियालले बेटिसलाई २–१ को नतिजा सुम्पिएको थियो।

२७ खेलमा ५६ अंक जोडेको रियाल दोस्रो स्थानमा यथावत् छ जुन समान खेल खेल्दै शीर्ष स्थानमा बसेको बार्सिलोनाभन्दा २ अंक कम हो। सेभिया, गेटाफे र एट्लेटिको मड्रिड क्रमशः ४७, ४६ र ४५ अंकका साथ तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। बार्सिलोना शनिबार लियोनल मेसीको पेनाल्टी गोलमा रियाल सोसिडाडलाई १–० ले हराउँदै शीर्ष स्थानमा फर्किएको थियो।

४०औं मिनेटमा सेड्नीको गोलमा बेटिस खेलमा अघि बढेको थियो। तर त्यसको ५ मिनेटपछि नै करिम बेन्जिमाले गरेको पेनाल्टी गोलमा रियाल खेलमा फर्किएको थियो। खेल सकिन ८ मिनेट बाँकी हुँदा क्रिस्टियन टेलोले बललाई जाली चुमाउँदै बेटिसका लागि ३ अंक पक्का गरेका थिए।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा गत साता रियालले बार्सिलोनालाई २–० ले हराउँदै रबाफ जमाए पनि आइतबार बेटिससँग भने सो प्रदर्शनलाई निरन्तरता दिन सकेन। रियालले पछिल्लो ४ मा तीन खेल गुमाइसकेको छ। शुक्रबार ला लिगामा एइबरविरुद्धको खेलपछि जिनेदिन जिदानको टोली च्याम्पियन्स लिग अन्तिम १६ दोस्रो लेगका लागि म्यानचेस्टर सिटीको भ्रमणमा निस्कनेछ। गारेथ बेल लगातार चौथो खेलमा पनि टोलीमा स्थान बनाउन असफल रहे। पहिलो लेगमा भने रियाल घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग २–१ ले निराश भएको थियो। त्यसैले रियाल पुनरागमनका साथ अघिल्लो चरण प्रवेश सम्भावना बलियो पार्न चाहन्छ।

‘यो निकै खराब नतिजा हो,’ रियालका प्रशिक्षक जिदानले भने, ‘हामी आज सबै पक्षमा निकै कमजोर रह्यांै। यसलाई हाम्रो सिजनकै खराब नतिजा पनि भन्न सकिन्छ। टोलीमा केही ऊर्जा थिएन, न बल नियन्त्रणमा थियो न त सट पास नै। आजको दिन खराब रह्यो। म टोलीको हारको जिम्मा लिन्छु। हामीले हारबाट आत्तिहाल्नु पर्ने केही छैन, तर हामी खुसी हुने ठाउँ पनि छैन।’

२७ खेलमा ५६ अंक जोडेको रियाल दोस्रो स्थानमा यथावत् छ, जुन समान खेल खेल्दै शीर्ष स्थानमा बसेको बार्सिलोनाभन्दा २ अंक कम हो।

प्रकाशित: २७ फाल्गुन २०७६ ०२:१४ मंगलबार

बार्सिलोना रियाल_मड्रिड