खेल

सिंहलाई हुन्डाई ओपन गल्फ

काठमाडौं – नेपाल प्रहरीका एसपी अशोक सिंहले शनिबार गोकर्ण गल्फ क्लबमा हुन्डाई ओपन गल्फको उपाधि जितेका छन्।

गोकर्ण गल्फ क्लबमा भएको एकदिने प्रतियोगितामा १७ ह्यान्डिक्यापका एमेच्योर गल्फर सिंहले ३७ स्टेबलफोर्ड स्कोरसहित उपाधि उचालेका हुन्। सिंहले ट्रफीसहित पुरस्कारस्वरूप गल्फ सामग्री प्राप्त गरे। टासी छिरिङ र याम गुरुङले समान ३६ स्कोर बनाए पनि काउन्ट ब्याकको आधारमा छिरिङ दोस्रो भए। ब्याक नाइनमा छिरिङले १९ र गुरुङले १४ स्कोर बटुलेका थिए। मस्ट बर्डिजको सफलता पनि प्राप्त गरेका छिरिङले सर्वाधिक ६ बर्डी हिकाए।

ग्रसतर्फ वाङचेन धोन्डुपले सफलता प्राप्त गर्दा ३५ ग्रस स्कोर बटुले। सिनियरतर्फ (६० वर्ष र सोभन्दामाथि)विजय मोक्तानले ट्रफी उचाल्दा ३४ स्कोर बटुले। टिजी श्रेष्ठले पनि समान ३४ स्कोर बटुले पनि ब्याक नाइनको आधारमा पछि परे। ब्याक नाइनमा मोक्तानले २० र श्रेष्ठले १९ स्कोर बटुलेका थिए। जुनियरतर्फ च्याम्पियन आश्रय बस्न्यातले ९ होलको प्रतिस्पर्धामा १३ स्कोर बटुले। महिलातर्फ च्याम्पियन कश्मिरा शाहले ३३ स्कोर बटुलिन्।

रवीन्द्र तिवारीले ३२ स्कोर बटुल्दा हुन्डाई कार उपभोगकर्तातर्पm सफलता पाए। क्लोजेस्ट टु दी पिनमा निरञ्जन शर्मा र लंगेस्ट ड्राइभमा प्रकाश गुरुङले पुरस्कार प्राप्त गरे। हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको प्रायोजनमा सञ्चालित प्रतियोगितामा १ सय २९ गल्फरले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता ३ बाई ४ ह्यान्डिक्याप फरम्याटमा खेलाइएको थियो। प्रतियोगिताका विजेतालाई नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिक र लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठलगायतले पुरस्कृत गरे। 

प्रकाशित: २५ फाल्गुन २०७६ ०२:२१ आइतबार

गोकर्ण_गल्फ उपाधि