खेल

वेस्ट इन्डिजद्वारा शृंखला क्लिन स्विप

पल्लेकले – आक्रामक ब्याटिङ गरेका आन्द्रे रसेलले १४ बलमा ६ छक्का प्रहार गरेको इनिङमा वेस्ट इन्डिजले शुक्रबार श्रीलंकामाथि सात विकेटको जित निकाल्दै दुई खेलको ट्वान्टी–२० क्रिकेट शृंखलामा क्लिन स्विप गरेको छ। १ सय ५६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजका लागि ब्रेन्डन किङ र रसेलले आक्रामक ब्याटिङ गर्दै आफ्नो टोलीलाई १७ ओभरमा तीन विकेट गुमाउँदै जित दिलाएका थिए। ब्रेन्डनले २१ बलमा ४३ र रसेलले १४ बलमा ४० रन बनाएपछि पाहुना टोली वेस्ट इन्डिजले सहजै खेल आफ्नो बनायो। पहिलो खेलमा पनि वेस्ट इन्डिजले २५ रनको सहज जित निकालेको थियो।

वेस्ट इन्डिजले ट्वान्टी–२० क्रिकेटमा सहजै सफलता निकाल्दै यस फरम्याटको विश्वकपमा पनि हाबी हुने संकेत देखाएको छ। ‘हामीले राम्रो समयमा सफलता प्राप्त गर्‍यो । यद्यपि, अझै पनि हामीले सुधार गर्नुपर्ने धेरै ठाउँ छन्,’ चोटका कारण छोटो फम्र्याटको क्रिकेट खेलेका रसेलले भने। ३१ वर्षे रसेलले निकै आक्रामक ब्याटिङ गर्दै एक बल पल्लेकेलेको मैदानबाहिर पठाएका थिए। युवा ओपनर किङले पनि २१ बल खेल्दा आठ चौका हिर्काए।

१ सय ५६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजका लागि ब्रेन्डन किङ र रसेलले आक्रामक ब्याटिङ गर्दै आफ्नो टोलीलाई १७ ओभरमा तीन विकेट गुमाउँदै जित दिलाएका थिए।

‘युवा ब्याट्सम्यानले पनि आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता प्राप्त गर्ने लक्षण देखाए। रसेलले पनि उत्कृष्ट ब्याटिङ गर्दा टोली थप बलियो बन्यो। बलरले पनि राम्रो प्रदर्शन गरे,’ तीन एकदिवसीय क्रिकेट शृंखला गुमाएका कप्तान केइरन पोलार्डले भने। त्यसअघि श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रनको योगफल बनाउँदा दसुना सनकाले आक्रामक ब्याटिङ गरेका थिए।

उनले २४ बलमा तीन चौका र एक छक्कासहित नटआउट ३१ रन बनाए। थिसरा परेराले १३ बलमा नटआउट २१ रन बनाउँदा एन्जेलो म्याथ्युज २३ रनमा रनआउट भए। अन्य ब्याट्सम्यान भने सस्तैमा आउट भए। श्रीलंकाका कप्तान लासिथ मालिङ्गाले आफ्नो टोलीले न्यून योगफल दिएका कारण हार बेहोरेको बताए। अस्ट्रेलियामा अक्टोबरमा हुने ट्वान्टी–२० विश्वकपअगाडि आफ्नो टोलीले एकरूपता र आत्मविश्वासलाई कायम राख्नुपर्ने बताएका छन्।  

प्रकाशित: २५ फाल्गुन २०७६ ०२:१२ आइतबार

क्लिन_स्विप ब्याटिङ