खेल

शंकरनगरलाई उपाधि

भैरहवा - भैरहवाको सिद्धार्थ रंगशालामा जारी एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शंकरनगर क्रिकेट क्लबले जितेको छ । राइनोज क्रिकेट क्लब काठमाडौंलाई २६ रनले पराजित गर्दै शंकरनगर क्रिकेट क्लबले उपाधि जितेको हो।

टस हरेर पहिला ब्याटिङ गरेको शंकरनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो। १ सय ७८ रनको लक्ष्य पाएको राइनोजले १९ दशमलव ५  ओभरमा सबै विकेट गुमाउँदै लक्ष्यसम्म पुग्न नसकेपछि उपविजेतामा चित्त बुझाउन बाध्य भयो। जितका लागि शंकरनगरका शंकर रानाले सार्वधिक ७६, तुलबहादुर थापाले २५ र सन्दीप सुनारले २२ रनको योगदान गरे। बलिङतर्फ राइनोजका सूर्य तामाङले २, रमेश कुर्मी, रोहितकुमार पौडेल, कमलसिंह एैरीले १/१ विकेट लिए।

जबाफमा खेलेको राइनोजका रोहितकुमार पौडेलले ७५, धीरज शाहीले २१ र गजेन्द्र बोहराले १७ रनको योगदान गरे पनि टोलीले जित हात पार्न सकेन। बलिङतर्फ शंकरनगरका अनिल खरेलले ३, दुर्गेश गुप्ता, सन्दीप सुनार, साहब आलम, विक्रम भुसाल र सुरज दरईले १/१ विकेट लिए। फाइनल खेलमा शंकरनगरका शंकर राना म्यान अफ दी भ्याच भए। विजेता शंकरनगरले ३ लाख नगदसहित  ट्रफी प्राप्त गरेको छ। विजेता र उपविजेतालाई प्रदेश सभा सदस्य सन्तोष पाण्डे, रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ल तथा पदाधिकारीले पुरस्कृत गरेका थिए। यस्तै प्रतियोगितामा बेस्ट बलर शंकरनगर क्रिकेट क्लबका विक्रम भुसाल, उत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याट्सम्यान अरसक ग्लोबल स्पोर्ट्सका अलि समद, उदीयमान खेलाडी शंकरनगरकै सौरभ खनाललाई पनि पुरस्कृत गरिएको थियो।

भैरहवा क्विन्स प्रालिको आयोजना र राइनो स्पोर्ट्सको संयोजनमा भैरहवास्थित सिद्धार्थ रंगशालामा पहिलो पटक भइरहेको अन्तरदेशीय टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका ८ वटा व्यावसायिक क्लबले प्रतिस्पर्धा गरेका थिए। सेमिफाइनल खेलमा हार बेहोरेपछि सबै विदेशी टोली प्रतियोगिताबाट बाहिरिएका थिए।

प्रकाशित: २३ फाल्गुन २०७६ ०१:२८ शुक्रबार

रंगशाला उपाधि