खेल

नेपाल ओमानसँग पुनः स्तब्ध

ओमानविरुद्ध बलिङ गर्दे नेपालका कुशल मल्ल (माथि) अर्धशतक प्रहार गरेका नेपालका कप्तान ज्ञानेन्द्र मल्ल । तस्बिर नागरिक

काठमाडौं – विश्वकप छनोटको रूपमा रहेको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसँगको दोस्रो खेलमा ८ विकेटले पराजित भएको हो। नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले १६ बल बाँकी छँदा मात्र २ विकेट गुमाएर पूरा ग-यो। ओमानलाई जित दिलाउन अकिब इलयासले १ सय ९ र जिसन मक्सुदले ६८ रनको अविजित इनिङ खेले। अकिब र जिसनले तेस्रो विकेटका लागि १ सय ६७ रनको विशाल साझेदारी गर्दै ओमानलाई सहज जित दिलाए। अकिबले १ सय ८ बलमा १२ चौका र एक छक्का हिर्काए।

कप्तान जिसनले अनुशासित ब्याटिङ गर्दै ७९ बलमा ८ चौका प्रहार गरेका थिए। आक्रामक सुरुआत गरेको ओमानले ४९ रनमा पहिलो विकेटका रूपमा जतिन्दर सिंहलाई २३ रनमा गुमाएको थियो। कुशल मल्लको बलमा बोल्ड हुनुअघि सिंहले तीन चौका हिर्काए । अर्का ओपनर खवार अली ४१ रनमा पवेलियन फर्किंदा सुसन भारीद्वारा बोल्ड भए। सुसन र कुशल बाहेक अन्य बलर भने विकेट लिन असफल भए। करण केसी, सन्दीप लामिछाने, कमलसिंह ऐरी चल्न नसक्दा नेपालको बलिङ असफल बन्यो।

नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले १६ बल बाँकी छँदा मात्र २ विकेट गुमाएर पूरा ग-यो। ओमानलाई जित दिलाउन अकिब इलयासले १ सय ९ र जिसन मक्सुदले ६८ रनको अविजित इनिङ खेले। अकिब र जिसनले तेस्रो विकेटका लागि १ सय ६७ रनको विशाल साझेदारी गर्दै ओमानलाई सहज जित दिलाए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रनको योगफल बनाएको थियो। कप्तान ज्ञानेन्द्र मल्लले ५६ रनको अर्धसतकीय इनिङ खेले। ७६ बल सामना गरेका ज्ञानेन्द्रले ६ चौका र एक छक्का प्रहार गरेका थिए। ओपनरसमेत रहेका कप्तान ज्ञानेन्द्रले सुवास खकुरेलसँग ४८ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। अमेरिकासँगको खेलमा तीन रनमा पवेलियन फर्किएका सुवासले २२ रनमा पहिलो विकेटका रूपमा आउट भएका थिए। ज्ञानेन्द्रले दोस्रो विकेटका लागि पारससँग ५९ रनको साझेदारी गरेपछि नेपालले राम्रो योगफल बनाउने देखिएको थियो। तर अनुशासित ब्याटिङलाई निरन्तरता दिन नसक्दा ठूलो योगफल भने बनाउन सकेन। पारस खड्काले ३८ रनमा पवेलियनको बाटो फर्किंदा विनोद भण्डारीले ३५ रनमा रनआउट भए।

आरिफ शेख र कुशल मल्लले समान २८ रनको योगदान दिए। सन्दीप लामिछाने र कमलसिंह ऐरीले अन्तिम दुई ओभरमा दुई बाउन्ड्री प्रहार गरेपछि नेपालले ओमानसामु २ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो। ओमानको बलिङतर्फ आकिब इलयास र मोहम्मद नदिमको बलिङ घातक साबित भयो। इलयासले चार विकेट लिँदा नदिमले तीन विकेट निकालेका थिए। जितसँगै ओमान सात राष्ट्र सम्मिलित लिग–२ मा १४ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। तीन खेलबाट नेपालको २ अंक छ। नेपालले घरेलु मैदानमा बुधबार अमेरिकासँग खेल्नेछ। नेपालमा पहिलोपटक आयोजना भएको एकदिवसीय त्रिकोणात्मक शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले स्तब्ध हुँदा दोस्रो खेलमा भने अमेरिकालाई ३५ रनले हराएको थियो। शृंखलामा मंगलबार ओमान र अमेरिकाबीच खेल हुनेछ।

 

प्रकाशित: २७ माघ २०७६ ०२:०२ सोमबार

विश्वकप पराजित घरेलु_मैदान