खेल

चितवन टाइग्रेसको दोहोरो जित

काठमाडौं – चितवन टाइग्रेसले १५औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ।

नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा सोमबार भएको खेलमा तीन इरानी खेलाडीकोे साथ पाएको चितवनले पहिलो खेलमा सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) लाई तथा दोस्रो खेलमा पारामाउन्ट स्कुलमाथि सहज जित निकाल्दै दोहोरो जित हात पारेको हो। दुई जितसँगै चितवनले ६ अंक जोडेको छ। चितवनले सेबलाई २५–८, २५–७ र २५–५ को सहजै हराएको थियो। दोस्रो खेलमा भने चितवनले पारामाउन्टको चुनौती २५–१३, २५–११ र २५–१२ ले पन्छायो। पारामाउन्टले ६ खेल खेल्दा तीन अंक मात्रै जोड्न सफल भएको छ।

साबिक विजेता विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब बुलबुले रारा भलिबल क्लब (बिआरसी) माथि ३–० को सोझो सेटमा जित हात पार्दै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको छ। अपराजित रहेको एपिएफको ५ खेलबाट १४ अंक पुगेको छ। एकपक्षीय खेलमा एपिएफले बुलबुले रारामाथि २५–२०, २५–१२ र २५–१० को सहज जित निकाल्यो। आफ्ना मुख्य स्पाइकर प्रतिभा मालीबिना लिग खेलिरहेको होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले लिगमा पहिलो हार बेहोर्दा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटको नतिजा सुम्पियो। प्रतिभाबिना फितलो देखिएको डायमन्डले आर्मीलाई २५–२०, २५–१५ र २५–१२ ले नतिजा सुम्पियो।

यस जितले आर्मीले चार  खेलबाट ९ अंक जोडेको छ। न्यु डायमन्डको पाँच खेलबाट १२ अंक छ। विभागीय नेपाल पुलिस क्लबले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबमाथि २५–१६, २५–१० र २५–७ को सहज जित निकाल्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ। पुलिसको पाँच खेलबाट १३ अंक पुगेको छ। पुलिससँग पराजित ढोरपाटनले पारामाउन्टमाथि २५–११, २५–१४ र २५–१३ को सहज जित हात पा-यो। ढोरपाटनको  पाँच खेलबाटै ९ अंक छ। लिगमा मंगलबार ५ खेल हुने आयोजकले जनाएको छ।

प्रकाशित: २१ माघ २०७६ ०१:१५ मंगलबार

भलिबल महिला_डबल_लिग चितवन_टाइग्रेस