खेल

चौथो स्थानमा उक्लियो एनआरटी

च्यासल युथविरुद्ध गोल गरेपछि फ्रेन्ड्सका उत्तम राई । तस्बिर सौजन्य : एन्फा

काठमाडाैँ – वैकल्पिक खेलाडी राजेश परियारको दुई गोलप्रेरित न्युरोड टिम (एनआरटी) ब्रिगेड ब्बाइज क्लब (बिबिसी) लाई २–० ले पराजित गर्दै राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथौ स्थानमा उक्लिएको छ।

यस जितपछि ९ खेलको समाप्तिमा १५ अंकका साथ एनआरटी चौथो स्थानमा पुगेको हो। समान खेलमा २० अंक जोडेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ भने समान खेलमा समान १९ अंक जोडेका मच्छिन्द्र र साबिकको विजेता मनाङ मर्स्याङ्दी   क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। ९ खेलमा समान १४ अंक जोडेका थ्री स्टार र नेपाल पुलिस समान १४ अंकका साथ पाँचाैँ र छैटाैँ स्थानमा छन्। ८ अंक जोडेको बिबिसी ११औं स्थानमा छ।

३२औं मिनेटमा राजेशको गोलमा एनआरटी खेलमा अघि बढेको थियो। राजेशले दर्शन गुरुङको पासलाई जाली चुमाएका थिए। ५२औं मिनेटमा राजेशले श्याम बाबुको पासमा एनआरटीको अग्रता दोब्बर पारेका थिए। राजेश २२औं मिनेटमा किसन कुमारको स्थानमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। ६३औं मिनेटमा बिबिसीले गोलअन्तर कम गर्ने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन। बिबिसीका कप्तान अनिल गुरुङले प्रहार गरेको पेनाल्टी एनआरटीका गोलकिपर अजित प्रजापतिले विफल पारेका थिए। एनआरटीका कप्तान विक्रम धिमालले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि बिबिसीले पेनाल्टीको अवसर पाएको थियो। अनिलले जारी लिगमा गोल खाता खोल्न सकेका छैनन्।

यसअघि लिगअन्तर्गत बिहीबारै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा फ्रेन्ड्स क्लबले च्यासल युथ क्लबलाई १–० ले निराश पारेको थियो। ८४औं मिनेटमा उत्तम राईले गरेको गोल फ्रेन्ड्सको जितमा पर्याप्त बन्यो। विश्व अधिकारीले प्रहार गरेको फ्रिकिक च्यासलका गोलकिपर एलन न्यौपानले बचाउँदा रिबाउन्डमा प्राप्त बललाई उत्तमले पोस्टको दिशा दिएका थिए। यस जितपछि ९ खेलमा ११ अंक जोडेको फ्रेन्ड्स नवौं स्थानमा उक्लिएको छ भने च्यासल ९ अंकका साथ १०औं स्थानमा यथावत् छ।

लिगअन्तर्गत दशौ चरणको खेल शनिबारबाट सुरु हुनेछ। शनिबार दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा थ्री स्टार क्लबले सरस्वती युथ क्लबको सामना गर्दा दिनको दोस्रो खेलमा मच्छिन्द्रले एपिएफको सामना गर्नेछ। बिहीबारै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा फ्रेन्ड्स क्लबले च्यासल युथ क्लबलाई १–० ले निराश पारेको थियो।

प्रकाशित: १७ माघ २०७६ ०१:२४ शुक्रबार

एनआरटी कतार_एयरवेज