खेल

अन्तरपालिका भलिबलमा ऐसेलुखर्क विजयी

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा आयोजित अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ऐसेलुखर्क गाउँपालिकाले चुमेको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा शनिबार बुइपास्थित खेलमैदानमा सम्पन्न फाइनल खेलमा बराहपोखरी गाउँपालिकालाई पछि पार्दै ऐसेलुखर्कले प्रथम उपाधि जितेको हो। ऐसेलुखर्कले २५–१२, २५–११ र २५–११ को सोझो सेटमा बराहपोखरीलाई हराएको हो। गत माघ ६ गते उद्घाटन गरिएको प्रतियागितामा बराहपोखरी दोस्रो, रावाबेँसी गाउँपालिका ‘ए’ तेस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिका सान्त्वना भएका छन्।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टोलीलाई १ लाख ११ हजार ११ रुपैयाँ, दोस्रो हुने टोलीलाई ७७ हजार ७ सय ७७, तेस्रो हुने टोली लाई ५५ हजार ५ सय ५५ रुपैयाँ र सान्त्वना स्थान प्राप्त गर्ने टोलीलाई ३३ हजार ३ सय ३३ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि ऐसेलुखर्क गाउँपालिकाका रोशन विक, विधागत उत्कृष्ट खेलाडीको उपाधि ऐसेलुखर्क गाउँपालिकाका निरकाजी तामाङ र अनुशासित खेलाडी बराहपोखरी गाउँपालिकाका किरण राई घोषित भएको आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनाएको छ

पूर्वखेलाडी सम्मानित
अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको समापन कार्यक्रममा पूर्वखेलाडी एवं रेफ्री सागर राईलाई सम्मान गरिएको छ। खेलक्षेत्रमै जीवन समर्पण गरेर खेलकुदको विकासमा योगदान पु-याएकोमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका पूर्वखेलाडी एवं रेफ्री राईलाई सम्मान गरिएको हो। उनलाई नगद १५ हजारका साथमा सम्मानपत्र प्रदान गरिएको छ।

प्रकाशित: १२ माघ २०७६ ०१:२२ आइतबार

पुरुष_भलिबल मदन_भण्डारी स्पोर्ट्स