खेल

पहिलो दिन निरज शीर्षमा

धरान - सूर्य नेपाल गल्फ टुरअन्तर्गत इस्टर्न ओपन २०२० को पहिलो दिन धरानका स्थानीय एमेच्योर गल्फर निरज तामाङ शीर्ष स्थानमा छन् ।

पार ७० को निर्वाणा गल्फ कोर्समा मंगलबार पहिलो दिन १८ होलको खेल सकिँदा निरज ६ अन्डर ६४ स्कोर खेल्दै शीर्ष स्थानमा  छन्। पहिलो दिन उत्कृष्ट कार्ड बनाउने क्रममा उनले फ्रन्ट नाइन ५ अन्डर ३१ र ब्याक नाइन १ अन्डर ३३ को उत्कृष्ट कार्ड बनाए। यो गल्फ कोर्समा ६ अन्डर खेल्ने निरज पहिलो खेलाडी  भएका छन्। ‘मेरो पनि अहिलेसम्मकै राम्रो खेल हो। अहिलेसम्म यो कोर्समा ६ अन्डर कसैले पनि बनाएको रहेनछ, यसले पनि ज्यादै खुसी छु,’ उनले भने,‘चिप र पट एकदमै राम्रो भयो, भोलि दोस्रो दिन पनि आजकै जस्तो निरन्तरता दिने प्रयास गर्छु।’

निरजले फ्रन्ट नाइनमा दोस्रो, तेस्रो, पाँचौं, छैटौं र सातौं होलमा बर्डी खेल्दै स्ट्रोक जोगाएका थिए भने पहिलो, चौथो, आठौं र नवौं होलमा पार खेले। यस्तै, ब्याक नाइनमा उनले १२औं, १४औं र १६औं होलमा बर्डी खेले भने १५औं  र १८औं होलमा बुगी खेल्दै स्ट्रोक खेर फाले। निरजसँग ३ स्ट्रोकले पछि परेका धराने युवा गल्फर शुक्रबहादुर राई ३ अन्डर ६७ स्कोरका साथ समग्रमा दोस्रो स्थानमा छन्। यसै वर्ष प्रो.टर्न भएका शुक्रले गत वर्षको संस्करणमा एमेच्योर र व्यावसायिक दुवैतर्फको उपाधि जितेका थिए। उनले फ्रन्ट नाइनमा १ अन्डर ३५ र ब्याक नाइनमा २ अन्डर ३२ को कार्ड बनाएका थिए।

शुक्रले दोस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए पनि पहिलो, चौथो र सातौं होलमा बुगी खेल्दै स्ट्रोक खेर फालेका थिए। यस्तै, ब्याक नाइनमा १०औं, १२औं र १८औं होलमा बर्डी खेले भने १५औं होलमा बुगी खेपेका थिए। पहिलो दिन १ अन्डर ६९ स्कोर गर्दै धरानकै व्यावसायिक खेलाडी बलभद्र राई (मणि) तेस्रो स्थानमा छन्। उनले फ्रन्ट नाइनमा १ अन्डर ३५ र ब्याक नाइनमा इभन पार ३४ को कार्ड बनाए। फ्रन्ट नाइनमा उनले दोस्रो र छैटौं होलमा बर्डी खेलेका थिए भने नवौं होलमा बुगी खेपेका थिए। यस्तै, ब्याक नाइनमा १२औं होलमा बर्डी खेल्दै स्ट्रोक जोगाए पनि १३औं होलमा बुगी खेपेका थिए।

समान १ ओभर ७१ स्कोर गर्दै नेपालका नम्बर वान खेलाडी शिवराम श्रेष्ठ, दिनेश प्रजापति र रमेश अधिकारी संयुक्त चौथो स्थानमा छन्। यस्तै, समान २ ओभर ७२ स्कोर गर्दै शिवकुमार माझी, सञ्जय लामा र दीपक मगर संयुक्त सातौं स्थानमा छन्। यसै गरी, समान ३ ओभर ७३ स्कोर खेल्दै विनोद तामाङ, विपिन तामाङ, सुन्दर राई, कृष्णमान राजवाहक, सुनील केसी र धनबहादुर थापा संयुक्त रूपमा दशौं स्थानमा छन्। चारदिने प्रतियोगितामा ३४ व्यावसायिक र १६ एमेच्योर गरी कुल ५०  खेलाडीहरु सहभागी भएको आयोजक नेपाल प्रोफेस्नल गल्फर्स एसोसिएसनले जनाएको छ।

प्रकाशित: ८ माघ २०७६ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App