खेल

मलेसियाको सान्त्वना जित

मलेसियन टोलीविरूद्ध बलिङ गर्दै गण्डकीका बिपिन खत्री ।

इटहरी -  सुनसरीको इनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूहचरणको अन्तिम खेलमा मलेसियाले सान्त्वना जित हात पारेको छ। इनरुवा रंगशालामा सोमबार समूह ‘डी’ अन्तर्गतको अन्तिम खेलमा मलेसियाले गण्डकी प्रदेशलाई १ सय ९२ रनको विशाल अन्तरले पराजित ग-यो। जित हात पारे पनि मलेसिया सेमिफाइनल पुग्न भने असफल रह्यो।

सुदूरपश्चिम प्रदेश यसअघि नै दुई खेलमा जित हात पार्दै समूह ‘डी’ बाट सेमिफाइनल प्रवेश गरिसकेको छ। गण्डकी प्रदेशले भने दुवै खेलमा हार बेहो-यो। मलेसियाले पहिले ब्याटिङ गर्दै दिएको २ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी प्रदेशले २७.२ ओभरमा १ सय ६ रनमै सम्पुर्ण विकेट गुमाउन पुग्यो।  गण्डकीका लागि विपिन खत्रीले सर्वाधिक ४२, प्रवीन ढकालले अविजित १९ तथा विधान श्रेष्ठले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। मलेसियाका तर्फबाट सुहारिल फेटरीले सर्वाधिक ४ विकेट लिए भने अनवर रहमान र विजय उन्नीले समान ३ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाउँदै २ सय ९८ रनको योगफल तयार गरेको थियो।

मलेसियाका लागि ओपनर ऐनुल हकिमले सर्वाधिक ८९ रन बनाए। उनले १ सय ११ बलमा ११ चौका प्रहार गरे। यस्तै, अर्का ओपनर भूषण सेभ र विरनदीप सिंहले समान ५० रन बनाए। भूषणले ३४ बलमा ८ चौका र १ छक्का तथा विरनदीपले ४५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै, अहमद फैजले ३१, मोहम्मद अरिफले २०, मोहम्मद हफिजले १५ तथा नजरिल रहमानले १३ रन बनाए। गण्डकी प्रदेशका विपिन खत्रीले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभर बलिङ गर्दा ५१ रन खर्चिए। चन्द्रकान्त पौडेलले २ तथा गोविन्द प्रधानले १ विकेट लिए।

खेलको प्लेयर अफ दी म्याच ऐनुल हकिम चुनिए। प्रतियोगिताअन्तर्गत यसअघि समूह ‘डी’ अन्तर्गतको खेलमा मलेसियालाई सुदूरपश्चिमले ८ विकेटले पराजित गरेको थियो। यस्तै सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। माघ १ गते हुने पहिलो सेमिफाइनल प्रदेश ३ र त्रिभुवन आर्मी क्लब तथा माघ २ गते हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २९ पुस २०७६ ०२:०८ मंगलबार

मनमोहन_मेमोरियल इनरुवा_रंगशाला