खेल

पत्रकार कुटिएको घटनाप्रति राखेपको आपत्ति

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) को रिपोर्टिङका क्रममा प्रहरीले पत्रकार कुटपिट गरेको घटनाप्रति राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आपत्ति जनाएको छ।

राखेपका उपाध्यक्ष पिताम्वर तिम्सिनाले रिपोर्टिङका क्रममा पत्रकार कुटिनु गलत भएको बताए। पत्रकारहरुको एक टोलीले उपाध्यक्ष तिम्सिनालाई भेटेर घटनाबारे ध्यानाकर्षण गराउँदै यस्तो अवस्थामा सागको रिपोर्टिङ कसरी गर्ने भन्दै प्रश्न गरेको थियो।

घटनाको विषयमा सुरक्षा प्रमुखसँग कुरा गर्ने तिम्सिनाले बताएका छन्। सदस्य सचिव रमेश सिलवालसँग पनि यस विषयमा कुरा गर्ने र दोषि अधिकारीमाथि कारबाहीको लागि कदम चाल्न पत्रकारहरुले माग गरेका छन्।

मंगलबार बिहान नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईलाई प्रहरीले दशरथ रंगशालामा कुटपिट गरेको थियो।

रंगशालामा प्रहरीले दर्शकमाथि कुटपिट गरेको भिडियो खिचेको भन्दै डिएसपी सन्तोष सिंह राठौरले पत्रकार चापागाईँ माथि कुटपिट गरेका थिए। प्रहरीको कुटाइबाट पत्रकार चापागाईँको मुख र कानमा चोट लागेको छ।

प्रकाशित: २४ मंसिर २०७६ ०८:१२ मंगलबार

साग खेलकुद पत्रकार कुटपिट प्रहरी