खेल

घरेलु मैदान नेपालका लागि अवसर बन्न सक्छ

काठमाडौ - २० वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) आफ्नो जन्मभूमि नेपाल फर्कंदै छ। आइतबार साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेसँगै १३औं संस्करणले औपचारिकता पाउनेछ।नेपालमा आयोजना हुन लागेको दक्षिण एसियाली राष्ट्रहरूको ओलम्पिकका रूपमा हेरिएको सागको यो तेस्रो संस्करण हो। १९८४ मा नेपालबाटै साग खेलकुदको जन्म भएको थियो। त्यस बेला  केवल ५ खेल मात्र समावेश गरिएको थियो। नेपालले ४ स्वर्ण, १२ रजत र ८ कांस्य पदक गरी कुल २४ पदकका साथ चौथो स्थानमा बस्दै प्रतियोगिता सकाएको थियो। १९९९ मा नेपालले दोस्रो पटक साग आयोजना ग-यो, जुन प्रतियोगिताको आठाैं संस्करण थियो। कुल १२ खेल समावेश  आठाेंै सस्करण नेपालका लागि निकै उपलब्धिमूलक रह्यो। यस पटक नेपालले ३१ स्वर्ण, १० रजत, र २४ कांस्य पदक गरी कुल ६५ पदकका साथ दोस्रो भएको थियो।

त्यसैले घरेलु मैदानमा मंसिर २४ गतेसम्म गरी कुल १० दिन चल्ने १३औं संस्करणको साग खेलकुद नेपाललाई आफ्नो दरिलो उपस्थिति जनाउनुका साथै घरेलु आठांै संस्करणमा पाएको सफलतामा थप सुधार गर्ने सुनौलो अवसर बन्न सक्छ। नेपालले स्वर्ण पदकको आश राखिएको प्याराग्लाइडिङ सहभागी राष्ट्रको संख्या अपुग भएको भन्दै समावेश नहुनु नेपालका लागि दुर्भाग्य बन्यो। त्यस्तै धेरै स्वर्ण आशा गरेको अर्को खेल तेक्वान्दोमा भारतले अन्तिम समयमा गरेको इन्ट्री नेपालका लागि अर्को धक्का बन्न सक्छ।

पटकपटक मिति सारेर भए पनि अन्ततः सागको आयोजना हुँदा नेपालले दीर्घकालीन रूपमा खेलसंरचना बनाउन सक्यो। तर तीन वर्षअघि साग आयोजनाको अधिकार पाए पनि २०७२ सालमा गएको महाभूकम्पका कारण भौतिक संरचनामा क्षति पुगेको र त्यसको पुनर्निर्माणमा गरिएको आलटालले नेपालमा साग आयोजना हुने नहुने अन्योतलको विषय बनेको थियो। तर पछिल्ला केही महिनायता भने साग खेलकुदको आयोजना स्थलको निर्माणले तीव्रता पाएको थियो। अन्तिम समयमा आएर अहिले यसले पूर्णता पाएको छ।

साग समारोह समितिका सचिव कुलबहादुर थापाले उद्घाटन समारोह करिब ३ घण्टा १४ मिनेट चल्ने बताए।‘नेपालको कला, संस्कृति र पहिचान झल्कने प्रस्तुति उद्घाटन समारोहमा देखाइनेछ,’  थापाले भने। उद्घाटन समारोहमा सातवटै प्रदेश घुमाएर ल्याइएको ओलम्पिक टर्चबाट दीप प्रज्वलन गर्ने, शपथ ग्रहण गर्ने, विशिष्ट अतिथिबाट स्वागत मन्तव्य तथा राष्ट्रपतिद्वारा उद्घाटन तथा सम्बोधनको कार्यक्रम राखिएको थापाले जानकारी दिए।

‘ओलम्पिनयन तथा सागका ४ पटकका कीर्तिमानी स्वर्णपदकधारी दीपक विष्टले दीप प्रज्वलन गर्नेछन्। सागकी स्वर्णधारी आयशा शाक्यले खेलाडीहरूको प्रतिनिधित्व गर्दै शपथ लिनेछिन् भने ब्याटमिन्टनका निर्णायक दीपक थापाले निर्णायकहरूका तर्फबाट शपथ लिनेछन्,’ थापाले भने।

थापाले उद्घाटनमा सशस्त्र प्रहरी बल (एपिएफ) का ४ हजार ५ सय, नेपाली सेनाका १५ सय, नेपाल प्रहरीका १ हजार, ३ हजार विद्यार्थी र विभिन्न झाँकी समूहका ४ हजार र ३ सय व्यवसायिक कलाकारको प्रस्तुति रहने बताए। ‘मार्चपासबाट सुरु हुने कार्यक्रम राष्ट्रपतिको प्रमुख आतिथ्य, स्वागत मन्तव्य, नेपालको कलासंस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम र आतिसबाजीका साथ समापन हुनेछ,’ थापाले भने, ‘यस पटक लेजर बिम, लाइटिङ, र ड्रोनजस्ता प्रविधिको प्रयोग गरिएको छ।

उद्घाटनमा मुकुन्द शर्माको रचना, प्रकाश गुरुङको संगीतमा आनन्द कार्की, कुन्ती मोक्तान, इन्दिरा जोशी र सत्यराज आचार्यलगायतको टोलीले सार्क गीत गाउने पनि थापाले जानकारी दिए। त्यसबाहेक ५ सय जनाले नेपाली मौलिक बाजाहरु घन्काउनेछन्।

मार्चपासमा नेपालको झन्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्नेछन्। यस पटक साग काठमाडाैं, पोखरा र जनकपुर गरी तीन सहरमा आयोजना हुँदै छ। यस खेलकुदमा २६ खेलको सहभागिता रहेको छ। काठमाडांैमा २१, पोखरामा ८ र जनकपुरमा १ खेल आयोजना हुनेछन। प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र भुटान गरी ७ सहभागी ७ राष्ट्रका खेलाडीले  ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कांस्य गरी कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

सागमा खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी कुल ३ हजार ७ सय ९ जना सहभागी हुँदै छन्। जसअन्तर्गत सातै देशका सहभागी खेलाडीको संख्या २ हजार ९ सय र  ७ सय ६९ अफिसियल रहेका छन्। सागमा नेपालबाट सर्वाधिक ५ सय ९४ खेलाडीले सहभागिता जनाउनेछन्। त्यस्तै व्यवस्थापक तथा प्रशिक्षक गरी एक सय ८६ जना पनि सहभागी हुनेछन्।

प्रकाशित: १५ मंसिर २०७६ ०१:०१ आइतबार

साग उद्घाटन घरेलु_मैदान अवसर