खेल

करिमको उत्कृष्ट बलिङ

लखनउ – करिम जनतको उत्कृष्ट बलिङमा अफगानिस्तानले शनिबार दोस्रो ट्वान्टी–२० खेलमा वेस्ट इन्डिजलाई ४१ रनले हराउँदै तीन खेलको शृंखला १–१ को बराबरीमा ल्याएको छ।

२१ वर्षे जनतले वेस्ट इन्डिजविरुद्ध पहिलो खेल खेलेका थिए, जहाँ अफगानिस्तान पराजित भएको थियो। अफगानिस्तानले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन मात्र जोड्न सक्यो। वेस्ट इन्डिजका दिनेश रामदिनले जोडेको अविजित २४ रन  टोलीका लागि सर्वाधिक बन्न पुग्यो। त्यस्तै इर्बिन लुइसले १४,जेसन होल्डरले १३ तथा ओपनर ब्रेन्डन किङले १२ रन जोडे।
वेस्ट इन्डिजलाई इनिङ सस्तोमा सीमित पार्ने क्रममा जनतले ४ ओभरमा ११ रन खर्चंदै ४ विकेट लिए। त्यस्तै नाभिन उल हक, रासिद खान र गुल्बादिन नाइबले समान १ विकेट लिए।

‘म पछिल्लो खेलमा टोलीको १२औं खेलाडी थिएँ। तर पनि मैले सो खेलबाट धेरै कुरा सिकें। मैले त्यसअनुरूप रणनीति बनाएँ,’आठांै ओभरमा इर्बिन लुइस र दशांै ओभरमा सिमरोन हेटमायरलाई पवेलियनको बाटो देखाएका जनतले भने, ‘यो विकेटमा पेसमा आएको परिवर्तन नै प्रमुख हतियार बन्यो।’

यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रनको योगफल तयार पारेको थियो।
पहिलो विकेटका लागि हज्मतुल्लाह जजाई र रमानुल्लाह गुर्बाजले ४२ रनको साझेदारी गर्दै टोलीलाई गतिलो सुरुआत दिलाएका थिए। १५ बल खेलेका जजाईले ३ चौका र १ छक्काको मद्दतमा २६ रन जोडेका थिए भने गुर्बाजको नाममा १५ रन रह्यो। त्यस्तै जनतले पनि १८ बलमा ५ चौकाको मद्दतमा २६ रनको योगदान गरे। नाज्बुल्लाह जार्दान र नाइबले क्रमशः २० र २४ रन जोडेका थिए।

वेस्ट इन्डिजका केस्रिक विलियम्सले ३ तथा किमो पाउल र जेसन होल्डरले समान २ विकेट लिएका थिए। ‘हामीले सुरुआतबाटै आक्रामक खेल्यौं, तर निरन्तर विकेट गुमाउँदा खेलमा सम्हालिन सकेनौं,’ होल्डरले भने, ‘हामी तेस्रो खेलमा आजको गल्ती दोहो¥याउँदैनौं।’यसअघि वेस्ट इन्डिजले अफगानिस्तानविरुद्धकै तीन एकदिवसीय खेलको शृंखला ३–० ले क्लिन स्विप गरेको थियो।

 

प्रकाशित: २ मंसिर २०७६ ०४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App