पोखरा – पोखराको सभागृह हलमा महानगरपालिकाले स्वीकृति नदिएपछि कास्की जिल्ला भारोत्तोलन संघले साग खेलकुदअन्तर्गत भारोत्तोलन प्रतियोगिता बैंक्वेटमा आयोजना गर्ने तयारी गरेको छ। संघले पोखराको माटेपानीस्थित एसआरकेसी बैंक्वेटमा सागअन्तर्गतको भारोत्तोलन खेल सञ्चालनका लागि आवश्यक पूर्वाधारसहितको तयारीमा जुटेको छ।
पूर्वाधारकै अभावमा भारोत्तोलन काठमाडौंमा आयोजना गर्ने सम्भावना थियो। १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पूर्वाधार नै थिएन। पूर्वाधार नभए पनि भारोत्तोलन संघ कास्कीले पोखरामै आयोजना गर्ने अड्डी लियो। दुई वर्षअघि भारोत्तोलनको राष्ट्रिय प्रतियोगिता पोखरा उद्योग वाणिज्य संघमा आयोजना गरिएको थियो। साग खेलकुद भने पोखरा सभागृहमा आयोजना गर्ने योजना संघले बनाएको थियो। तर सभागृहलाई पुनर्निर्माण गर्ने भन्दै महानगरपालिकाले आयोजनाका लागि स्वीकृति दिएन। स्टेज तथा प्लेटफर्म बनाउनुपर्ने संघले महानगरपालिकालाई आग्रहसमेत गरेको थियो। पुनर्निर्माणका लागि टेन्डर आह्वानको तयारी गरिएको भन्दै हल संघलाई साग गेम्सका लागि प्रयोग गर्न दिइएन।
साग खेलकुदअन्तर्गत भारोत्तोलन पोखरा सभागृहमा आयोजना गर्ने योजना संघले बनाएको थियो। तर सभागृहलाई पुनर्निर्माण गर्ने भन्दै महानगरपालिकाले आयोजनाका लागि स्वीकृति दिएन।
‘सभागृहमै स्टेजसहितको प्लेट फर्म बनाउन महागरपालिकाले सहयोग गरेको भए भारोत्तोलनका अन्तर्राष्ट्रिय प्रतियोगिता आगामी दिनमा आयोजना गर्न सकिन्थ्यो’, कास्की जिल्ला भारोत्तोलन संघका सचिव विनोद अधिकारीले भने, ‘महानगरपालिकाले हल नदिएपछि एसआरकेसी बैंक्वेटमा सागको भेन्यु तयार गर्दै छौं।’ सभागृह हलमा स्टेजसहित दर्शकलाई कुर्ची, अफिसियललाई कोठा, खेलाडीलाई आराम कक्ष, बैठक कोठालगायत चेन्जिङ र शौचालय सबै थिए। केवल मर्मत सम्भार गरे हुन्थ्यो।
संघले अहिले ती अधिकांश पूर्वाधार बैंक्वेटमा तयार गर्दै छ। स्टेजदेखि प्लेट फर्म मात्रै नभई वार्मअप स्थल, अफिसियल कक्षलगायतका पूर्वाधार बनाउन सुरु गरिएको उनले बताए। ‘सभागृह हलमा आयोजना गर्न महानगरपालिका सकारात्मक भइदिएको भए हाम्रो खर्च केही जोगिन्थ्यो,’ उनले भने। पूर्वाधारका लागि १६ लाख रुपैयाँ अनुमान गरिएको छ। बैंक्वेटमा धेरैजसो पूर्वाधार तयार गर्नुपर्ने भएकाले केही खर्चिलो देखिएको उनको भनाइ थियो।
संघका उपाध्यक्ष उमेश सिकेका अनुसार डोपिङ टेस्टका लागि बैंक्वेटमै छुट्टै कोठा तयार गरिँदै छ। खेलस्थल बैंक्वेटलाई बनाइए पनि प्रशिक्षणस्थल भने संघले पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलभित्रै बनाएको छ। हलभित्र चारवटा प्लेट फर्म तयार गरिँदै छ। त्यसका लागि पनि खर्चिलो बनेको संघले उल्लेख गरेको छ। ‘महानगरपालिकाले दूरगामी दृष्टिकोण नराख्दा बढी आर्थिक भार खर्चिएर निजी क्षेत्रको बैंक्वेटमा प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता रह्यो’ उनले भने,‘यो बैंक्वेट नभएको भए भारोत्तोलन पोखरामा आयोजना हुने सम्भावना पनि कम थियो।’ भेन्युको स्थलगत अध्ययन गरी दक्षिण एसियाली ओलम्पिक कमिटीका पदाधिकारीको टोली फर्किएको छ। टोलीले भेन्यु उपयुक्त नभएको प्रतिक्रिया दिएको संघका अध्यक्ष राजन बड्गामीले सुनाए।
यता सभागृह हल भने पुनर्निर्माणका लागि टेन्डर प्रक्रियामा गइसकेको छैन। टेन्डर प्रक्रिया नै नहँुदा तत्कालै मर्मत सम्भार हुने सम्भावना पनि देखिँदैन। ‘विस्तृत परियोजना प्रतिवदेन तयार भएको छ। ऋण स्वीकृति भए टेन्डर प्रक्रियामा जान्छ,’ पोखरा महानगरपालिका मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भने, ‘ऋण स्वीकृति लगत्तै टेन्डर प्रक्रिया हुन्छ।’ उनका अनुसार मर्मतसम्भारका लागि १४ करोडको खर्च लाग्ने प्रतिवेदनले देखाएको छ। महानगरपालिका सभागृह हल मर्मत गर्न नगरविकास कोषमार्फत ऋण स्वीकृतिको पर्खाइमा छ।
प्रकाशित: २७ कार्तिक २०७६ ०३:५९ बुधबार