खेल

सयपत्री गोल्डकप शुरुः आयोजकको विजयी शुरुवात

उद्घाटनमा सहभागी अतिथिहिरु । तस्बिरः नागरिक

रुपन्देही- बुटवलमा मंगलबारदेखि शुरु भएको स्व. ज्ञानबहादुर गुरुङको स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजकले विजयी शुरुवात गरेको छ। उद्घाटन खेलमा सयपत्रीले नवलपरासी–११ लाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो।

खेलको १५ औ मिनेटमा नवलपरासीका रोहित थारुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर सयपत्रीका योङ दोर्जेले खेलको २१ औ मिनेटमा बराबरी गोल गरे। निर्धारित समयमा थप गोल हुन सकेन र खेल ट्राईबेकरमा धकेलिएको थियो।

ट्राईबेकरमा सयपत्रीका गोलकिपर रेम्बो चौधरीले नवलपरासीका आशिष मगर र निराजन क्षेत्रीको प्रहारलाई विफल पारीदिए। सयपत्रीका विश्वास मगर, सरोज योन्जन, सुरज घतान र टंकु लामाको प्रहार गोलमा परिणत भयो भने विश्व अधिकारीको प्रहारलाई नवलपरासीका गोलकिपर अजित कुमार चौधरीले रोकिदिएका थिए।

नवलपरासीका सबि गुरुङ र सुरज आलेले गोल गरेका थिए। खेलमा आयोजक सयपत्रीका योङ दोर्जे म्यान अफ दी म्यानबाट पुरस्कृत भएका थिए। प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँ, उपविजेता टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयासहित कप, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष कमल रानाले बताए।

प्रतियोगिता अवधिमा उत्कृष्ट खेलप्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, ट्रफी, प्रमाणपत्र तथा विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्यपंक्ति खेलाडी, अग्रपंक्ति खेलाडीहरुलाई जनही ५–५ हजारका दरले पुरस्कृत गरिने उनले बताए। हरेक प्रतियोगितामा एक जना म्यान अफ दी म्याचलाई नगद २ हजार, कपबाट पुरस्कृतसमेत गरिने छ। विसं. २०७१ मा तेस्रो संस्करणको उपाधि खनाल ब्रदर्श फर्साटिकरले चुमेको थियो।

प्रतियोगितामा नवलपरासी–११, आयोजक सयपत्री युवा क्लब, पाल्पा–११, फर्साटिकर युवा क्लब, पाच नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, अभिषेक चर्च ब्यायइज रहजर, सुनौलो संगम युवा क्लब देविनगर, लिस्नु युवा क्लब कोटिहवा, चितवन–११, सिम्रिक युवा क्लब कालिकानगर, सिद्धार्थ युवा क्लब बासगढी, भैरव देशभक्त युवा क्लब नवलपरासी गरि १२ टिमले भाग लिने छन्।

बुधबारको सुनौलो संगम युवा क्लब देविनगर र ५ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका बीचमा खेल हुने क्लबका सचिव सन्तोष गुरुङले बताए। कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान रहेको छ। 

प्रकाशित: १९ कार्तिक २०७६ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App