खेल

इलाम अन्तरवडा फुटबलमा वडा ९ र ६ विजयी

इलाम– इलाम सदरमुकामको ठूलो टुँडिखेलमा दोस्रो इलाम अन्तरवडा फुटबल प्रतियोगिता सुरु भएको छ। शनिबार सुरु प्रतियोगिताको पहिलो दिनका खेलमा २ टिम विजयी भएका छन्। 

पहिलो खेलमा वडा ९ ले वडा १ लाई ३–० गोलले पराजित गरेको छ। खेलको पहिलो हाफमा वडा ९ का प्रवीण राई र सन्तोष रम्तेलले १–१ गोल गरे। पहिलो हाफमा २ गोलले पछि परेको वडा १ माथि दोस्रो हाफमा प्रवीणले नै अर्काे गोल थपेपछि वडा ९ को विजय निश्चित भएको हो। खेलमा २ गोल गरेका प्रवीणले पहिलो खेलको म्यान अफ् दि म्याच घोषित हुँदै नगद २ हजार १ सय, मेडल र ट्रफी पाए। 

शनिबारकै दोस्रो खेलमा वडा ६ ले वडा १० लाई ३–० गोलकै अन्तरले पराजित ग¥यो। वडा ६ का लागि पहिलो हाफमा अंकित दासले २ र अल्फान तुम्बोले १ गोल गरे। दोस्रो हाफमा वडा १० ले जवाफी गोलसमेत फर्काउन नसक्दा उपविजेतामै चित्त बुझायो। दोस्रो खेलको म्यान अफ् दि म्याच २ गोल गरेका अंकित दास घोषित भए।

इलाम नगरपालिकाअन्तर्गतको नगर खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा १२ वडाका १–१ टिम सहभागी छन्। आउँदो २२ गते हुने प्रतियोगिताको फाइनल खेलका विजयीले नगद १ लाख तथा उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन्। नगरमा फुटबल खेलको प्रतिभा पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठान अध्यक्ष तिलक ठकुरीले बताए। ‘यो प्रतियोगिताबाट जिल्लामा कस्ता खेलाडी छन् भन्ने पनि थाहा पाउनसमेत सहयोग पुग्नेछ,’ उनले भने, ‘प्रत्येक टिममा बढीमा ३ खेलाडी इलाम नगरपालिकाबाहिर तर इलाम जिल्लाभित्रका राख्न पाउने व्यवस्था पनि गरेका छौं।’ 

प्रकाशित: १६ कार्तिक २०७६ १४:२४ शनिबार

इलाम_अन्तरवडा_फुटबल वडा_९_र_६ विजयी