खेल

ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई बुधबार कप्तानको जिम्मेवारी दिएको नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए। 

‘निलम्बन फुकुवापछि बसेको पहिलो बोर्ड बैठकले पारसको राजीनामाबारे आधिकारिक धारणा लिने भनेको थियो, सोहीअनुसार अध्यक्ष चतुरबहादुर चन्द, महासचिव र प्राविधिक समितिका संयोजक सञ्जयराज सिंहले जिम्मेवारी पाएका थियौं,’ महासचिव प्याकुरेलले भने, ‘पारसले क्यानमा आधिकारिक रूपमा नै आफ्नो राजीनामा बुझाएपछि हामीले ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेका हौं।’

‘इङ्ल्यान्डबाट हुने एमसिसी टुर, १३औं दक्षिण एसियाली खेलकुद साग पनि नजिकिँदै गरेको छ,’ महासचिव प्याकुरेलले थपे, ‘सबै पदाधिकारी र प्रशिक्षकसँग सरसल्लाह गरेर हामीले ज्ञानेन्द्रलाई जिम्मेवारी दिने निर्णयक गरेका हौं।’ विभिन्न डिभिजन हुँदै बंगलादेश २०१४ को ट्वान्टी–२० विश्वकपसम्म नेपाली टोलीलाई सम्हाल्दै सफल कप्तानका रूपमा स्थापित पारस खड्काले असोज २८ गते कप्तानबाट राजीनामा दिएपछि क्यानले मल्ललाई सो जिम्मेवारी दिएको हो।  

पारसको राजीनामापछि क्यानले उपकप्तान ज्ञानेन्द्रलाई कप्तान तथा युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी सुम्पिएको हो। ज्ञानेन्द्र २००९ मा पारस कप्तान बन्दा उपकप्तान रहँदै आएका थिए। त्यसो त कहिलेकाहीं ज्ञानेन्द्रले पारसको अनुपस्थितिमा कप्तानको जिम्मेवारी सम्हाल्दै  आइरहेका छन्। ज्ञानेन्द्रले २०१७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको आइसिसी विश्व च्याम्पियन लिगमा केन्यासँग दुवै खेलमा कप्तानी गरेका थिए।

यस्तै २०१७ मा भएको एसिसी इमर्जिङ टिम कपमा ज्ञानेन्द्रले नेपालको कप्तानी सम्हालेका थिए। त्यसको दुई महिनाअघि आइसिसी टी–२० एसिया कप छनोटमा पनि पारस घाइते हुँदा ज्ञानेन्द्रले मलेसियाविरुद्ध कप्तानी गरेका थिए।

उक्त खेलमा ज्ञानेन्द्रले कीर्तिमानी अर्धशतकसमेत प्रहार गरेका थिए। उनले घरेलु क्रिकेटमा नियमित रूपमा विभिन्न टोलीको कप्तानी सम्हाल्दै आएका छन्। ज्ञानेन्द्रकै कप्तानीमा ललितपुर प्याट्रियट्सले एभरेस्ट प्रिमियर लिगको गत संस्करणको उपाधि जितेको थियो।

२९ वर्षे ज्ञानेन्द्र सन् २००६ मार्चमा नामिबियासँग भएको खेलमा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। ज्ञानेन्द्र मल्ल नेदरल्यान्ड्ससँग नेपालले खेलेको पहिलो एकदिवसीय क्रिकेट खेल्ने पहिलो रोजाइका खेलाडीसमेत हुन्। २०१८ मा भएको खेलमा उनी पहिलो रोजाइमा परेका थिए। ज्ञानेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा शतकीय इनिङ्स खेल्ने सातौं नेपाली खेलाडी हुन्। सिंगापुरविरुद्ध २०१४ विश्व क्रिकेट लिग डिभिजन थ्रीमा भएको खेलमा ज्ञानेन्द्रले १ सय २५ बलको सामना गर्दा १ सय १४ रन जोड्न सफल भएका थिए। विभागीय टोली एपिएफ क्लबसँग आबद्ध ज्ञानेन्द्रले हङकङसँग २००९ मार्चमा भएको खेलमा ट्वान्टी–२० मा डेब्यु गरेका थिए। 

२००६ देखि नेपाली टोलीमा आबद्ध हुँदै आएका ज्ञानेन्द्रले टी–२० आईमा ४८, लिस्ट ‘ए’ मा ९१ र ट्वान्टी–२० मा ५२ रनको उत्कृष्ट इनिङ्स रहेको छ।

त्यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरी यसअघि सिंगापुर र जिम्बाब्वेसँगको त्रिकोणात्मक तथा ओमानसँगको ट्वान्टी–२० सिरिजमा उपकप्तान बनेका थिए। सन् २०१७ नोभेम्बरमा यु–१९ एसिया कपमा भारतलाई १९ रनले हराउँदै पहिलो ऐतिहासिक जित निकाल्दा दीपेन्द्रले नेपाली टोलीको जिम्मेवारी पाएका थिए । दीपेन्द्रले आफ्नो कप्तानीमा धनगढी प्रिमियर लिगको उपाधि सिवाइसी अत्तरियालाई जिताइसकेका छन्। 

२००९ देखि कप्तान पारसले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले तीन वर्ष सम्म लगाएको निलम्बन फुकुवा भएको भोलिपल्ट नै कप्तानबाट राजीनामा दिएका थिए। अब नेपालले नवनियुक्त कप्तान ज्ञानेन्द्रको कप्तानीमा लिगेसी टुरका लागि नेपाल भ्रमण गर्ने एमसिसी टोलीसँगको शृखंला खेल्नेछ। इङ्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब एमसिसी बिहीबार नेपाल आउने तालिका छ। एमसिसीको टोलीले नेपालको राष्ट्रिय टोली र यु–१९ टोलीसँग विभिन्न शृंखला खेल्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १४ कार्तिक २०७६ ०२:२७ बिहीबार

क्यान कप्तान ज्ञानेन्द्र_मल्ल