खेल

नेपाल क्रिकेट संघ को साधारण सभा सुरु, नयाँ नेतृत्व चुनिदै

काठमाडौं- नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारणसभा काठमाडौंमा सुरु भएको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट साढे तीन वर्षदेखी निलम्बनमा परेको नेपाल क्रिकेट संघ आईसीसीको रोहबरमा सुरु भएको यो साधारण सभाले नयाँ नेतृत्व पनि चुन्नेछ। नेतृत्वको  लागि शनिबार निर्वाचन हुँदै छ। आज साधारण सभा र भोली हुने निर्वाचनले क्यानलाई नयाँ नेतृत्व दिनेछ। १७ सदस्यीय नयाँ नेतृत्वका लागि ५९ जनाले मतदान गर्नेछन्। जसमा ३९ जिल्लाका प्रतिनिधि र प्रदेशका २० जना मतदाताले चुनावमा सहभागिता जनाउने छन्।

नयाँ नेतृत्वका लागि दुई पूर्वअध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्द चुनावी मैदानमा उठ्ने पक्का भएको छ।  पाण्डे र चन्द दुवै पक्षको चुनावी एजेण्डा क्यानमाथिको निलम्बन फुकुवामा नै केन्द्रित छ। यस अघि सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले क्यानलाई निलम्बन गरेको थियो। तर नेपाली खेलाडी आइसीसीकै अधिनमा रहेर प्रतियोगितामा सहभागिता जनाउँदै आइरहेका छन्। यस अघि निर्वाचित क्यान, राष्ट्रिय खेलकुद परिषद तथा अन्य सबै सरोकारवालाको सहमतिमा आइसीसीद्वारा गठित स्वतन्त्र समूहले असोज ३ र ४ गतेका लागि आह्वान गरेको साधारणसभा राखेपको असहमतिका कारण १० र ११ गतेका लागि सारिएको थियो।

यस्तै असोज २६ मा आईसीसीको बोर्ड बैठक बस्दैछ। सो बैठकमा नेपालमाथि लगाइएको निलम्बन फुकुवा हुने अपेक्षा लिइएको छ।

प्रकाशित: १० आश्विन २०७६ १०:४५ शुक्रबार

क्रिकेट क्यान साधारण_सभा