खेल

ग्रान्ड स्लाम लक्ष्य

काठमाडाैं – पछिल्लो समय महिला टेनिस स्टार प्रेरणा कोइराला नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि तयारी गरिरहेकी छिन्।

सागमा स्वर्ण जित्ने लक्ष्यका साथ विदेशी भूमिमा प्रशिक्षणरत प्रेरणा आफ्नो तयारीलाई बेजोड तरिकाले अघि बढाइरहेकी छिन्। उनको त्यो लक्ष्यमा सहयोग गर्न उनका बुबा पुरुषोत्तम कोइराला र सिंगो परिवार नै लागिपरेको छ।

प्रेरणाको लक्ष्यका अगाडि पिता पुरुषोत्तमले आफ्नो व्यवसायलाई समेत थाती राख्दै छोरीलाई निरन्तर साथ दिइरहेका छन्। उनै प्रेरणा मंगलबार मात्र भारतको अहमदाबाद इन्टरन्यासनल स्पोर्ट्स एकेडेमीबाट करिब ३ महिनाको अभ्यासपछि फर्किएकी थिइन्।

बुधबारबाट १७ वर्ष लागेकी प्रेरणा बिहीबारबाट सागका लागि हुने छनोट खेल्न नेपाल फर्किएकी हुन् । सागको छनोट बिहीबारबाट कुल १२ दिन सञ्चालन हुनेछ।

प्रेरणाका लागि यो छनोट खेल सागको ढोका खोल्ने माध्यम मात्र नभएर उनको वैदेशिक प्रशिक्षण मूल्याङ्कनको आधार हुनेछ।

नेपाल नम्बर एक प्रेरणा गत वर्ष मेमा सम्पन्न छैटाैं सिटिजन्स बैंक ओपन  राष्ट्रिय टेनिस प्रतियोगितापछि अपराजित रहँदै आएकी छिन्। त्यसपछि खेलिएका पाँच प्रतियोगितामा उनले अपराजित यात्रालाई निरन्तरता दिँदै आफूलाई अब्बल साबित गरिरहेकी छन्। यस क्रममा प्रेरणाले २०१८ को सेप्टेम्बरमा तेस्रो वेस्टर्नर ललितपुर जिल्ला राष्ट्रिय टेनिस च्याम्पियनसिप, दोस्रो बुटबल लुम्बिनी ओपन राष्ट्रिय टेनिस प्रतियोगिता, ११औं सहवीर मेमोरियल खुला टेनिस, नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण र साताैं सिटिजन्स बैंक ओपन राष्ट्रिय टेनिस प्रतियोगिता आफ्नो पोल्टामा पार्दै नेपाली महिला टेनिसमा एकछत्र राज गर्दै आएकी छिन्।

जनवरीमा एक महिना ट्रायलका लागि गुजरातस्थित अहमदाबाद इन्टरन्यासनल स्पोर्ट्स एकेडेमीमा गएकी  थिइन्। त्यहाँको प्रशिक्षणबाट प्रभावित हुँदै प्रेरणाले भारतकै उत्कृष्टमध्येको सोही एकेडेमीमा ६ महिने प्रशिक्षण गर्ने निर्णय गरिन्।

‘मैले नेपालका प्रशिक्षक नराम्रो भएर भारतमा प्रशिक्षण लिने निर्णय गरेकी होइन,’ पेन्टागन कलेजमा व्यवस्थापन संकायतर्फ कक्षा १२ मा अध्ययनरत प्रेरणाले भनिन्, ‘सो एकेडेमीबाट राम्राराम्रा खेलाडीहरू उत्पादन भइसकेका छन्। म बिहान दैनिक तीन घण्टा प्रशिक्षणमा बिताउँछु। बेलुकी भने फिटनेसम बिताउँछु। मेरो लक्ष्य ग्रान्ड स्लाम खेल्नु हो र मैले त्यसलाई साकार पार्न व्यक्तिगत खर्चमा यहाँ प्रशिक्षण लिइरहेको छु। नेपालमा टेनिस खेल्ने खेलाडीको संख्या न्यून छ। त्यसैले पनि यहाँ खेल्दा मैले धेरै विपक्षी खेलाडीहरूसँग खेल्ने अवसर पाउँछु। जसले मेरो खेललाई दिनप्रतिदिन सुधार्दै लगेको छ।’

‘घरेलु मैदानमा हुने सागका लागि उत्साही छु,’ प्रेरणाले भनिन्, ‘मेरो सामु नेपाली टेनिस इतिहासमै पहिलो स्वर्ण जित्ने सुनौले अवसर पनि छ। तयारी राम्रो भएकाले उत्कृष्ट नतिजा ल्याउनेमा विश्वस्त छु। भारत र श्रीलंकाका खेलाडी हाम्रा मुख्य प्रतिस्पर्धी बन्न सक्छन्।

प्रेरणाको यो सफलताका पछाडि उनको बुबा पुरुषोत्तमको पनि ठूलो भूमिका  छ। उनले प्रेरणाको ग्रान्ड स्लाम खेल्ने सपना साकार पार्न पछिल्लो ४ वर्षमा उनलाई निरन्तर वैदेशिक प्रशिक्षणमा पठाइरहेका छन् । अहमदाबाद एकेडेमीमा अझै ३ महिनाको प्रशिक्षण बाँकी छ र उनी यसबीचमा भारत, श्रीलंका र बंगलादेश गरी ४ विभिन्न प्रतियोगिता खेल्ने लक्ष्यमा छिन् । जुन सागका लागि राम्रो तयारी बन्न सक्छ। यसका लागि भारतको चेन्नई र हैदराबाद तथा श्रीलंकाको कोलम्बोमा उनको सहभागिता निश्चित भइसकेको छ।

११ वर्षको उमेरमा आइडियल स्कुलमा पढ्दा टेनिस -याकेट समातेपछि प्रेरणाले थाइल्यान्ड, मलेसिया, श्रीलंका, बंगलादेश र सिंगापुरमा समेत वैदेशिक प्रशिक्षण लिएकी थिइन्। उनी प्रशिक्षणका लागि मात्र ५ पटक थाइल्यान्ड पुगिसकेकी छिन्। प्रेरणालाई यस खेलमा लाग्न हौसला दिने उनका बुबा पुरुषोत्तम छोरीलाई युरोपमा थप सुविधायुक्त प्रशिक्षणस्थलमा पठाउन चाहन्छन्। तर उनलाई सो लक्ष्यमा पुग्न कुनेै दिन आर्थिक संकट पर्छ भन्ने ठूलो डर छ। जग्गा व्यवसायी पुरुषोत्तम हालसम्म प्रेरणाको वैदेशिक प्रशिक्षणका लागि १ करोड २५ लाख खर्च गरिसकेको दाबी गर्छन्। एपिएफकी खेलाडी प्रेरणाले अहिले क्लबबाट मासिक १५ हजार भने आम्दानी गर्र्दै आएकी छिन्।

‘प्रेरणाले जुनदेखि नोभेम्बरसम्म प्रशिक्षणको अवसर पाएकी हुन् र यसका लागि व्यक्तिगत खर्च लाग्छ,’ पुरुषोत्तमले भने, ‘हामीले जसोतसो अगस्टसम्मको भुक्तानी गरेका छाैं। प्रशिक्षणको अझै तीन महिना बाँकी छ। उनको प्रशिक्षण शुल्क र होस्टेल गरी महिनाको कुल १ लाख ६० हजार बुझाउनुपर्छ। अहिलेसम्म त्यहाँको प्रशिक्षणमा मैले जेजति सकें गरें।अब हामीलाई सहयोगी हातको खाँचो छ। प्रेरणाले राम्रो प्रदर्शन गर्दा अवश्य पनि समग्र नेपाली खेलकुदलाई गौरवान्वित गर्छ। हामीलाई धेरै संघसस्था र व्यक्तिहरूले सहयोगको आश्वास दिए पनि अहिलेसम्म प्रायोजक भने भेटेका छैनौं।’

पुरुषोत्तमले प्रेरणाको लागि सहयोग गर्न खेलकुद मन्त्रालयलाई समेत आग्रह गरेपनि सकारात्मक जबाफ नपाएको भन्दै दुखेसो पोखे।
पुरुषोत्तम आफैं टेनिस खेलका पारखी थिए। प्रेरणा मैजुबहालस्थित आइडियल स्कुलमा कक्षा ८ मा पढ्दा क्रिकेट खेल्थिन्, जहाँ उनी टोलीकी तीव्र गतिकी बलर थिइन्। प्रेरणाले सानैदेखि खेलमा रुचि देखाएपछि पुरुषोत्तमले स्कुलकै प्रशिक्षक राजकुमार लामासँग प्रेरणालाई टेनिस प्रशिक्षणका लागि ह्याम्स टेनिस एकेडेमीमा भर्ना गराएका थिए। त्यसपछि भने उनी नियमित सातदोबाटोस्थित अखिल नेपाल लन टेनिस संघमा रहेको टेनिस कोर्टमा प्रशिक्षणका लागि जान थालिन्।

‘प्रेरणा मिहिनेती खेलाडी हुन्,’ प्रशिक्षक राजकुमारले भने, ‘सामान्यतया ८ वर्ष  टेनिसमा लाग्ने उमेर हो। तर प्रेरणाले ११ वर्षमा टेनिसको सुरुआत गरे पनि यिनले छिट्टै आफूलाई उत्कृष्ट ठह-याइन्। सागमा उनका लागि भारतीय र श्रीलंकन खेलाडी चुनौती बन्न सक्छन्।’

प्रकाशित: २ आश्विन २०७६ ०३:०४ बिहीबार

महिला_टेनिस खेलकुद