खेल

पूजन र श्रीया च्याम्पियन

काठमाडौं – चिल्ड्रेन मोर्डन स्कुलका पूजन तामाङ तथा नवज्ञान भूमिका श्रीया खड्का द चाँदवाग अन्तरस्कुल गोजुकाई कराते प्रतियोगिताअन्तर्गत एकल कातामा बिहीबार च्याम्पियन भएका छन्।

बाँसबारीस्थित द चाँदवाग स्कुलमा भएको प्रतियोगितामा छात्रतर्फ पूजन र छात्रातर्फ श्रीयाले अन्य ८ स्कुलका प्रतिस्पर्धीलाई अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन्। यस्तै छात्रतर्फ मित्रपार्क डोजोका सोहेन्द्र रानामगर दोस्रो बन्दा आयोजक द चाँदका प्रविज्ञ कोइराला तेस्रो बने। छात्रातर्फ सायुरी राईले दोस्रो स्थान हात पार्दा पुष्पाश्री र अंशु गुरुङ संयुक्त रूपमा तेस्रो भए।

काठमाडौं उपत्यकाका २० स्कुलको सहभागिता रहेको प्रतियोगितामा छात्रतर्फ ५० केजी तौलसमूहमा आयोजक द चाँदवागका मनग्य कोइराला र छात्रातर्फ २० केजी तौलसमूहमा द चाँदवागकी श्रीयाक्षी खत्रीले स्वर्ण पदक हात पारे। मनग्यले प्राक्सिस इन्टरनेशनल स्कुलका नितेश राईलाई पराजित गर्दा श्रीयाक्षीले गोल्डेन पिक स्कुलकी सोफिया कुंवरलाई पराजित गर्दै पहिलो भएका हुन्।

छात्रतर्फ विभिन्न १० तौलसमूह र छात्रातर्फ ९ तौल समूहमा भएको प्रतियोगितामा विभिन्न स्कुलका खेलाडीले १९ स्वर्ण, ३८ कांस्य र १९ रजत पदकका लागि प्रतिस्पर्धा गरेका थिए। दुई दिने प्रतियोगितामा ५ स्वर्णसहित नवज्ञानभूमि स्कुल पहिलो बन्दा ३ स्वर्ण पदक हात पारेको आयोजक दी चाँदवाग दोस्रो र २ स्वर्ण पदक हात पारेको बाँसबारी स्कुल तेस्रो भयो।  प्रतियोगितामा छात्रतर्फ दी चाँदवागका पूजन तामाङ  उत्कृष्ट खेलाडी बन्दा छात्रातर्फ इमानियोल डोजोकी एन्जल गुरुङ उत्कृष्ट महिला खेलाडी घोषित भइन्। विजयी खेलाडीलाई गोजुकाई करातेको मुख्यालय जापानबाट आएका प्रतिनिधि सिन्हान हिदेकी वाकासुगी र नाओतो सुग्युराले पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: २० भाद्र २०७६ ०४:२० शुक्रबार

चिल्ड्रेन_मोर्डन_स्कुल गोजुकाई_कराते_प्रतियोगिता