खेल

शर्मा जिकेएमएएफको सद्भावना दूत

तेक्वान्दो प्रशिक्षक दिनेश शर्मा

काठमाडौं – तेक्वान्दो प्रशिक्षक दिनेश शर्मा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स गेम्स एन्ड लिजेन्ड अफ द मार्सल आर्ट्स हल अफ फेम (जिकेएमएएफ) को सद्भावना दूत नियुक्त भएका छन्।

नेपाल तेक्वान्दो महासंघका अध्यक्ष एवं नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासंघका महासचिवसमेत रहेका शर्मालाई ग्लोबल कोरियन मार्सल आर्ट्स फेडेरेसनले जिकेएमएएफको सद्भावना दूत नियुक्त गरेको महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। फेडेरेसनले अक्टोबरमा अमेरिकाको न्यु जर्सीमा आयोजना हुने हल अफ फेम अवार्ड कार्यक्रमका लागि उनलाई सद्भावना दूत नियुक्त गरेको हो।

हल अफ फेम अवार्ड कार्यक्रम अक्टोबर २५ देखि २७ सम्म आयोजना हुनेछ। यसैगरी उनी एक्स्ट्रा अर्डिनरी मास्टर इन्स्ट्रक्टर अवार्डका लागि समेत मनोनित भएका छन्। उनी यसअघि जर्मनीमा ‘मास्टर अफ द इयर’ अवार्डबाट सम्मानित भएका थिए । ब्ल्याक बेल्ट पाँचौं डान प्राप्त शर्मा अन्तर्राष्ट्रिय ‘ए क्लास’ रेफ्रिसमेत हुन्।

प्रकाशित: १४ भाद्र २०७६ ०५:४४ शनिबार

तेक्वान्दो प्रशिक्षक सद्भावना_दूत