खेल

प्रकाश दाहालको स्मृतिमा भलिबल हुने

काठमाडौं – प्रगतिशील युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशिको खुला पुरुष भलिबल  प्रतियोगिता आयोजना गर्ने भएको छ।  आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वर्गीय प्रकाश दाहालको स्मृतिमा राजधानीमा भदौ २४ देखि २८ सम्म सर्वाधिक धन राशिको ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप’ राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता गराउने जानकारी गरिएको हो।

सामाजिक कार्यसँगै खेलकुदमा कार्य गर्ने गरी भर्खरै स्थापित प्रगतिशील युवा नेपाल अध्यक्ष दीपक थापाले खेलाडीमा नयाँ ऊर्जा थप्न राष्ट्रिय खुला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए।  अध्यक्ष थापाले खेलकुद विकास र समृद्धिको छैटौं पूर्वाधार रहे पनि उल्लेख्य फड्को मार्न नसकिरहेको अवस्थामा प्रगतिशील युवा नेपाल खेलकुदमा नयाँ ऊर्जाका साथ जोडिएको बताए। 

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ  भने दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछ।  प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ।  स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ हात पार्ने महासचिव सुनिल थापा मगरले जानकारी गराए।

प्रतियोगितामा तीन विभागीयसहित बढीमा १० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी गराए।  एक टोलीले ३ विदेशी खेलाडी क्लबमा राख्न पाउने र तीनै जनाले एकै पटक कोर्टमा उत्रन पाउनेछन्।  प्रतियोगिताको अनुमानित खर्च करिब ३८ लाख ५० हजार रुपैयाँ रहने आयोजकको अनुमान छ।  प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने प्रतियोगिता संयोजक गुरुङले बताए।

प्रकाशित: १२ भाद्र २०७६ ०२:३४ बिहीबार

प्रकाश_दाहाल स्मृति भलिबल