खेल

बराबरीमा रोकियो रियाल

मड्रिड – दुई वर्षपछि ग्यारेथ बेल र जेम्स रोड्रिग्वेजसँगै मैदान प्रवेश गर्दाको दिन शनिबार रियाल मड्रिडले ला लिगामा रियल भालाडोलिडमाथि जित निकाल्न असफल रह्यो।

एक गोलले पछि परेको अवस्थामा भालाडोलिडले पुनरागमन गर्दै कठिन प्रतिद्वन्द्वीविरुद्ध अंक खोस्न सफल भएको हो। बेल र जेम्स यसै सिजन रियाल छाड्ने सम्भावना रहे पनि  प्रशिक्षक जिदानले दुवैलाई टोलीमा समावेश गर्दै टोलीको संयोजन गरेका थिए। यसअघि जिदानले पहिलो खेलमा गरेको प्रदर्शनका कारण बेल रियालमा नै रहने बताएका थिए। प्रशिक्षक जिदानले कुनै पनि नयाँ खेलाडीलाई पहिलो रोजाइमा नराख्दा टोलीले भालाडोलिडसँग अंक बाँड्न बाध्य भएको हो।

पहिलो खेलमा सेल्टा भिगोमाथि ३–१ को जित निकाल्दै सिजनमा सुखद सुरुआत गरेको रियाल दोस्रो खेलमा बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित सकिएको खेलमा ८२औं मिनेटमा करिम बेन्जामिनले गोल गर्दै रियाललाई सुरुआती अग्रता दिलाएका थिए। तर खेल सकिन दुई मिनेट बाँकी रहँदा भालाडोलिडका सेर्गी ग्वार्डिओलाले गोल फर्काउँदै रियालको अग्रता बराबरी ल्याएको थिए। त्यसपछिको बाँकी समयमा रियाल जितका लागि आक्रामक देखिए पनि प्रयास असफल रह्यो।

‘अन्तिम मिनेटको गोलले निराश बन्नुप¥यो। मुख्यैमा पुगेको जित खोसियो। स्पष्ट जितका लागि निकै प्रयास गरेका थियौं,’ रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘अगाडि बढ्न आगामी खेलमा हामी अलि मिहिनेती र गम्भीर भएर खेल्नुपर्छ।’

हालै मात्र इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीबाट रियालमा पुगेका इडेन हाजार्ड र फल्र्यान्ड मेन्डी दुवै चोटले ग्रस्त हुँदा जिदानले बेल र जेम्सलाई एकै साथ मैदानमा उतारेका हुन्। यस्तै लुका जोभिक र इडर मिलिटाओ पनि बेन्चमा रहेका थिए।

वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका जोभिकले अवसरलाई सदुपयोग गर्ने क्रममा क्रस बारमा लागेर फर्किंदा रियाल स्तब्ध बनेको थियो। सन् २०१७ पछि रियालबाट जेम्स  पहिलो रोजाइको रूपमा मैदान प्रवेश गरेका हुन्। दुवै खेलाडी उत्कृष्ट रहेको भन्दै जिदानले रियालले दोस्रो हाफमा सहज तरिकाले खेल्न नसकेको बताए।

‘जेम्सले उत्कृष्ट प्रदर्शन गरे। सामान्य कमजोरीका कारण उनी विगत केही समयदेखि पहिलो रोजाइमा थिएनन्। हामीले जोखिम मोल्न चाहेनौं,’ प्रशिक्षक जिदानले थपे, ‘विशेष गरी पहिलो हाफमा जेम्सले उत्कृष्ट प्रदर्शन गरे। पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन्।’

पहिलो खेलमा भिगोविरुद्ध तीन गोल गरेको रियालले शनिबार फिनिसिङमा चुक्दा अंक बाँड्न परेको हो। खेल अवधिमा २२ प्रयास गरेको रियालले मात्र चार प्रयास लक्ष्यमा पुगेको थियो। भालाडोलिडविरुद्धको खेल नियालेका क्लबका अध्यक्षक फ्लोरिन्टिनो पेरेजलाई शनिबारको बराबरीले पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमारको विषयलाई टुङ्गो लगाउन दबाब पुगेको छ।

पहिलो खेलमा रियल बेटिसविरुद्ध जित निकाल्दै सिजनको सुखद सुरुआत गरेको भालाडोलिडले बलियो प्रतिद्वन्द्वीविरुद्ध पुनरागमन गर्दै अंक खोस्न सफल भएको हो।
ला लिगाअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा लेभान्तेले भिल्लारियललाई २–१ ले पराजित गर्दा औसाने र एइबारले गोलरहित बराबरी खेल्दै अंक बाँडे। यस्तै गेटाफे र एट्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेल्दा सेल्टा भिगोले भ्यालेन्सियालाई १–० ले स्तब्ध बनायो। बेल र जेम्स यसै सिजन रियाल छाड्ने सम्भावना रहे पनि  प्रशिक्षक जिदानले दुवैलाई टोलीमा समावेश गर्दै टोलीको संयोजन गरेका थिए।

प्रकाशित: ९ भाद्र २०७६ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App