खेल

अस्ट्रेलियाको सहज जित

बर्मिघंम – अस्ट्रेलियाले एड्गबास्टन भएको पहिलो एसेसमा घरेलु टोली इङ्ल्यान्डलाई सोमबार २ सय ५१ रनले पराजित गरेको छ विश्व टेस्ट च्याम्पियनसिपको पहिलो खेलसमेत रहेको एसेसमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै सुखद सुरुआत गरेको छ। ३ सय ९८ रनको लक्ष्यसहित पाँचौं तथा अन्तिम दिन ब्याटिङ गरेको इङ्ल्यान्ड १ सय ४६ रनमा समेटिएपछि अस्ट्रेलियालाई नतिजा सुम्पियो।

अफ स्पिनर नाथन लायन एक्लैले ६ विकेट र तीव्र गतिको बलर प्याट कमिन्सले ४ विकेट निकालेपछि अस्ट्रेलियाले सन् २००१ पछि एड्गबास्टनमा सबै फरम्याटमा गरेर पहिलो सफलतासमेत प्राप्त ग¥यो। हारपछि घरेलु टोली इङ्ल्यान्डको लगातार ११औं अन्तर्राष्ट्रिय जितको यात्रा रोकिएको छ।

प्रतिबन्धपछिको पहिलो टेस्ट अस्ट्रेलियाका पूर्वकप्तान स्टेभन स्मिथका लागि भने विशेष रह्यो। बल टेम्परिङका कारण १२ महिनाको प्रतिबन्धपछि टेस्ट क्रिकेटमा फर्किएका स्मिथ एसेसको पहिलो खेलमा दुई शतक बनाउन सफल भए। उनले लगातार दुई इनिङमा १४४ रन र १४२ रनको योगदान दिए। साथै स्मिथ एउटा एसेसमा दुई शतक प्रहार गर्ने अस्ट्रेलियाका पाँचौं ब्याट्सम्यानसमेत भए। एक समयमा १२२–८ को खराब परिस्थितिमा रहेको अस्ट्रेलियाका लागि प्रतिबन्धपछि पहिलो शतक प्रहार गर्दै स्मिथले २ सय ८४ रनसम्म डो¥याए।

इङ्ल्यान्डले पनि पहिलो इनिङमा ३ सय ७४ रन बनाउँदा दोस्रो इनिङ सुरु गर्नुअघि ९० रनको अग्रता बनाएको थियो। दोस्रो इनिङमा पनि स्मिथको शतकको मद्दतबाट अस्ट्रेलियाले ४ सय ८७ रनमा ७ विकेट पतन भएपछि इनिङ समाप्तीको घोषणा गरेको थियो। टेस्ट क्रिकेटमा इङ्ल्यान्डको सर्वाधिक विकेट लिने बलर जेम्स एन्डरसन चोटका कारण अनुपस्थिति हुँदा अस्ट्रेलियाले त्यसको फाइदा लिँदै अग्रता बनाएको छ। सन् २०२१ सम्म खेलिने टेस्ट च्याम्पियनसिपको पहिलो खेलमा जितसँगै अस्ट्रेलिाले २४ अंक पनि जोडेको छ। पाँच खेलको टेस्ट शृंखलाअन्तर्गत अस्ट्रेलियाले दोस्रो खेल अगस्ट १४ मा खेल्नेछ।

 

 

प्रकाशित: २१ श्रावण २०७६ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App