खेल

रग्बीमा जापानलाई सफलता

टोकियो, (एएफपी)– घरेलु मैदानमा हुने विश्वकप रग्बी नजिकिँदै गर्दा जापानले लगातार दोस्रो जित निकालेको छ।

हानाजोनो रग्बी स्टेडियममा शनिबार भएको खेलमा विश्व वरीयतामा ११औं स्थानमा रहेको जापानले टोङ्गालाई ४१–७ ले हराउँदा पाँच ट्राइ गरेको थियो।

यससँगै विश्वकपको तयारी गरेको जापानले प्यासिफिक नेसन्स कपमा लगातार दोस्रो जित निकाल्दै आगामी विश्वकप रग्बी राम्रो हुने संकेत गरेको छ। एसियामा पहिलो पटक हुन लागेको विश्वकप आउन ५० भन्दा कम दिन बाँकी छँदा जापानले सुखद सफलता जारी राख्यो।

जापानका कप्तान मिकाइल लेज्टले पछिल्लो हप्ता फिजीविरुद्ध जित निकालेपछि आफ्नो टोलीले लय समातेको उल्लेख गरेका छन्। ‘हाम्रो प्रदर्शन सुधारको संकेत देखाउन हामीमाथि दबाब थियो,’ जापानाका कप्तान मिकाइलले भने, ‘तर, पछिल्ला हप्तादेखि हामीले सुधार भएको प्रमाणित गर्न सकेका छौं। हामीले विश्वकपको यात्राका लागि राम्रो गरिरहेका छौं।’

अमानकी लेलेईले पहिलो ट्राइ गर्दै जापानलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा जापानका लागि एसाइली एई र टिमोथी लफाइलले निकै राम्रो प्रदर्शन गरेका थिए। पहिलो हाफको अन्तिम समयमा टोङ्गाले स्कोर गर्ने अवसर चुकाउँदा २१–० ले पछाडि परेको थियो। टोङ्गाका लागि दोस्रो हाफमा अंक दिलाउँदा लेभा फिफिटाले ट्राई गर्न सफल भए।

तर, जापानका कातारो मात्सुसिमा र केन्की फुकुओकाले स्कोर गर्दा घरेलु टोलीले टोङ्गामाथि सहज जित निकाल्यो। जापानले आफ्ना मुख्य प्रशिक्षक जेमि जोसेफबिना पनि सफलता निकालेको हो। प्रशिक्षक न्युजिल्यान्डका जोसेफ आमाको निधनको कारण केही दिनअगाडि नै घर गएका छन्।

प्रकाशित: १९ श्रावण २०७६ ०५:०८ आइतबार

रग्बी जापान