खेल

नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

काठमाडौं– अगस्ट अन्तिम साताबाट भारतमा आयोजना हुने यु–१५ पुरुष साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा घरेलु टोलीको सामना गर्ने भएको छ।

क्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालको प्रतिद्वन्द्वी आयोजक भारत भएको हो। आयोजकसँगको प्रतिस्पर्धाबाट नै प्रतियोगिताका उद्घाटन हुनेछ। दक्षिण एसियाका पाँच देशले सहभागिता जनाउने प्रतियोगितामा नेपालको पहिलो खेल अगस्ट २१ (भदौ ४) मा खेल्ने तालिका सार्वजनिक भएको हो।

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, बंगलादेश, श्रीलंका र भुटानले सहभागिता जनाउँदै छन्। नेपालले दोस्रो खेलमा श्रीलंकासँग अगस्ट २३(भदौ ६) खेल्नेछ भने तेस्रो खेल बंगलादेशसँग अगस्ट २७(भदौ १०) र अन्तिम खेलमा भुटानसँग अगस्ट २९ (भदौ १२) मा प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

यस अघि यु–१६ च्याम्पियनसिपबाट खेलाउँदै आए पनि पाँचौं संस्करणबाट यु–१५ को नामबाट सञ्चालन गरिएको हो। अघिल्लो संस्करण नेपालमा आयोजना हुँदा यु–१५ बाट सञ्चालन गरिएको थियो। नेपालको आयोजनामा बंगलादेशले उपाधि जित्दा घरेलु टोली नेपाल चौथो स्थानमा खुम्चिएको थियो।

तेस्रो स्थानका लागि भएको स्पर्धामा नेपाल भारतसँग १–० ले पराजित भएको थियो। उक्त संस्करणमा पाकिस्तान र श्रीलंकाले अन्तिम समयमा सहभागिता नजनाउने भएपछि नेपालले प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएको थियो। त्यसपछि दक्षिण एसियाका ६ टोलीलाई दुई समूहमा विभाजन गरी नेपालमा आयोजना गरिएको थियो।

अघिल्लो संस्करणमा सहभागिता जनाएका माल्दिभ्स र पाकिस्तानले भारतमा हुन लागेका प्रतियोगितामा भाग लिएका छैनन्। अघिल्लो संस्करण आन्तरिक कारण देखाउँदै सहभागि नजनाएको श्रीलंकाले यो संस्करणमा भने भाग लिएको छ। प्रतियोगिता भारतको पश्चिम बंगालस्थित कल्याणी रंगशालामा आयोजना हुने साफले जारी गरेको तालिकामा उल्लेख गरेको छ।

प्रकाशित: १५ श्रावण २०७६ ०२:०१ बुधबार

नेपाल साफ भारत