खेल

हासेनले मागे माफी

कायरो– ट्युनिसियाका गोलकिपर मौइज हासेनले अफ्रिकन अफ  नेसन्समा घानाविरुद्धको खेलमा आफूले गरेको गल्तीप्रति टोली र समर्थकसँग माफी मागेका छन्।

घानासँगको प्रि–क्वार्टरफाइन खेलमा प्रशिक्षकले पेनाल्टी सुटआउटका लागि २४ वर्षे हासेनलाई मैदान पठाउँदै फारौक बेन मुस्तफालाई गोलपोस्टको जिम्मेवारी दिने निर्णय गरेका थिए। तर, त्यो निर्णयको प्रतिवाद गर्दै हासेनले मैदान छाड्न अस्वीकार गरेका थिए। यद्यपि, प्रशिक्षकले फारौकलाई मैदान पठाउँदै हासेनलाई बेन्चमा सीमित गरिछाडे। जसका कारण हासेन निकै रुष्ट देखिएका थिए।

निर्धारित र अतिरिक्त समयमा घाना र ट्युनिसियाको खेल १–१ को बराबरी टुङ्गिएको थियो। पेनाल्टीमा पनि फारौकले प्रशिक्षकको आशाअनुरूप सानदार प्रदर्शन गरेका थिए। सो क्रममा फारौकले एक पेनाल्टी रोक्दा ट्युनिसियाले घानालाई ५–४ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। आफ्नो टोलीले जित निकालेपछि हासेनले उक्त घटनाका कारण आफू लज्जित भएको बताए।

‘त्यो घटनाका कारण म निकै लज्जित छु। त्यसका लागि प्रशिक्षकसँग माफी माग्न चाहन्छु। साथै सहकर्मी र समर्थकप्रति पनि माफी माग्न चाहन्छु,’ हासेनले भने, ‘त्यो घटनाका कारण पछुतो मानिरहेको छु।’ यसअघि इङ्लिस प्रिमियर लिगमा पनि चेल्सीका गोलकिपर केपा एरिजाबालागाले पनि सोही किसिमको अवस्था सिर्जना गरेका थिए। तर, केपा भने प्रशिक्षकको उक्त निर्देशनलाई अस्वीकार गर्दै गोलपोस्टमै बसेका थिए।

तर, हासेनले भने प्रशिक्षकको निर्देशनलाई मानेका थिए। जसका कारण दोस्रो रोजाइका रूपमा मैदान आएका फारौकले घानाका खेलाडी कालेब एकुबानको पेनाल्टी प्रहार रोकिदिएका थिए।  

 

प्रकाशित: २६ असार २०७६ ०६:०१ बिहीबार

ट्युनिसिया गोलकिपर माफी