खेल

उदयपुर गोल्डकप आउँदो २५ देखि

उदयपुर गोल्डकप सञ्चालन हुने थरुहट रंगशाला खेलमैदान। तस्बिरः महेश्वर/नागरिक

उदयपुर– ०६८ सालदेखि सञ्चालनमा आइरहेको ‘उदयपुर गोल्डकप’ को यस वर्षको संस्करण आउँदो २५ गतेदेखि सुरु हुने भएको छ। सदरमुकाममा बर्सेनि आयोजना हुँदै आएको ‘प्रतियोगिताको छैटौं संस्करण आगामी २५ देखि ३२ गतेसम्म सञ्चालन गर्नेगरी तयारी सुरु भएको आयोजक समितिले जनाएको छ।

गाईघाटस्थित ‘थरुहट–उदयपुर रंगशाला’मा सञ्चालन हुने गोल्डकप प्रतियोगितामा ‘ए’ डिभिजनका ४ सहित ८ वटा राष्ट्रियस्तरका खेल समूहको सहभागिता रहने मूल आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले बताएका छन्। प्रतियोगितामा सहभागी हुने खेल समूहहरूको टुंगो भने अहिले नै लागिसकेको छैन। अध्यक्ष चौधरीका अनुसार सम्भावित खेलाडी समूहहरू साविककै हुनसक्ने बताएका छन्।

विगत वर्षहरूमा सहभागी हुँदै आएका थ्री–स्टार, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल आर्मी समूहकै सहभागिताको प्रबल सम्भावना रहेको छ। त्यस्तै झापा, मोरङ र सुनसरी तथा आयोजक उदयपुर ११ को सहभागिता लगभग निश्चित भइसकेको अध्यक्ष चौधरीले बताए। ‘अहिले नै कुन कुन टिमको सहभागिता हुन्छ भन्ने पक्का भइसकेको छैन’ बिहीबार चौधरीले भने, ‘तर, लगभग गत विगत वर्षहरूमा सहभागी भएका थ्री–स्टार, पुलिस, आर्मी र एपिएपहरू विभागीय टिमको रुपमा सहभागी हुनेछन्। त्यस्तै झापा, मोरङ, सुनसरी र घरेलु टिम त छँदैनन्।’

प्रतियोगिताको तयारी स्वरूप खेल मैदान व्यवस्थापन, प्रचार प्रसार, प्रायोजक खोजी, सहभागी खेलाडी टिमको छनोट कार्य तीव्र गतिमा भइरहेको अध्यक्ष चौधरीले बताए। अहिलेसम्म भिआइपीसहित ५ वटा प्याराफिट बनिसकेको रंगशाखामा दर्शकको चापलाई मध्यनजर राख्दै बाँसका प्यारापिट निर्माण गर्ने काम पनि थालिएको छ। पूर्वतर्फ २ र पश्चिमतर्फ भिआइपीसहित ३ वटा पक्की प्यारापिट बनिसकेकाले दक्षिण र उत्तरतर्फ तथा पूर्वको खालि जमिनमा बाँसका प्यारापिट निर्माण गर्न लागिएको अध्यक्ष चौधरीले बताए। जेठ दोस्रो साताभित्र सबै तयारी पूरा गरिसक्नेगरी काम अघि बढिसकेको उनको भनाइ छ। 

विगत वर्षहरूमा माघदेखि चैतभित्रै सम्पन्न हुँदै आएको प्रतियोगिता यो वर्ष चैत मध्यमा गर्ने कार्यतालिका अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रले नै सार्वजनिक गरेको थियो। तर, खेल मैदान स्तरोन्नति निर्माण गर्नुपर्ने भएका कारण तोकिएको समयमा काम सम्पन्न हुन सकेन। तोकिएको समयमा गर्न नसके पनि वैशाखमा गर्नेगरी मैदान स्तरोन्नति गरेर हरियो घाँससमेत उमारिसकिएको छ। त्रियुगा नगरपालिकाको १० लाख सहयोगमा मैदान सम्याउँदै चारैतिर नाला निर्माण गरेर मैदानको सतह मिलाउने काम स्तरोन्नति निर्माणअन्तर्गत गरिएपछि मैदान आकर्षक र सुविधासम्पन्न हुन पुगेको छ। यसअघि मैदानको सतह उत्तरभन्दा दक्षिणमा एकफिट हाराहारी होचो भएका कारण विगत वर्षहरूमा खेल खेलाउँदा विवादसमेत हुने गरेको थियो।

साता दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सदरमुकाम र जिल्लाकै ठूलो गोल्डकप भएका कारण दर्शक ओइरिने गरेका छन्। आयोजक समितिले खेल अवधिभरि झण्डै एक लाख दर्शकको सहभागिता हुने अनुमान गरेको छ। भिआइपीसहित ५ वटा प्यारापिटमा एक पटकमा १२ हजार हाराहारी मात्र दर्शक अँट्न सक्ने क्षमता रहेको छ। दैनिक १५ हजार हाराहारी दर्शक सहभागी हुने आँकलन गरिएपछि बाँकी दर्शक अँटाउन बाँसका प्यारापिट बनाउनुपर्ने अवस्था सिर्जना भएको हो।

यसपटकको प्रतियोगितामा भारतको सिक्कीमको खेलाडी समूहलाई सहभागी गराउने प्रयास भइरहेको छ। उदयपुर गोल्डकपलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि भारतको ‘सिक्किम एफसी’ टिमलाई सहभागी गराउने प्रयास भइरहेको उदयपुर गोल्डकपका संस्थापक अध्यक्ष तथा संरक्षक किरण राईले बताए। एन्फाका केन्द्रीय प्रवक्तासमेत रहेका राईले विगत ९ वर्षदेखि सञ्चालित गोल्डकपलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विदेशी टिमको सहभागितामा जोड दिइने बताए। सुरु वर्ष २०६८ सालमा विजेतालाई १ लाख नगद र ट्रफी तथा उपविजेतालाई ५० हजार नगद पुरस्कारबाट सुरु भएको गोल्डकपको गत वर्ष सम्पन्न छैटौं संस्करणमा विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख राशिको पुरस्कार प्रदान गरिएको थियो।

यो वर्षको पुरस्कार राशिको घोषणा हुन बाँकी रहे पनि विजेतालाई ७ लाख र उपविजेतालाई ४ लाख पु-याउनेबारे छलफल भइरहेको छ। गत वर्षको भन्दा नघट्ने तर बढाउने नबढाउने भन्ने विषयमा छिट्टै आयोजक समितिको बैठकले निर्णय गर्ने अध्यक्ष चौधरीले बताए। उनका अनुसार सकेसम्म पुरस्कार राशि बढाउने योजनामा आयोजक समिति रहेको र विभिन्न विधागत पुरस्कार पनि यो वर्ष आकर्षक रहने छ।

आयोजकका अनुसार सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा अन्य ५ वटा विधागत खेलाडीले जनही २०/२० हजार नगद र ट्रफी पुरस्कार पाउनेछन्। विगतमा भएका प्रतियोगिता प्रथम संस्करणमा जितेको थ्री–स्टारले दोस्रो र पाँचौं वर्ष पनि उपाधि जितिसकेको छ। तेस्रो र चौथौं संस्करणको उपाधि क्रमशः अफ्रिकन युनाइटेड र रूपन्देहीले जितेका थिए।

प्रकाशित: १० जेष्ठ २०७६ ०७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App