खेल

२५ करोडमा भिआइपी प्यारापिट निर्माण हुँदै

इटहरी– २५ करोडको लागतमा इटहरी रंगशालामा अन्तर्राष्ट्रियस्तरको भिआइपी प्यारापिट बन्ने भएको छ।

तीन हजार पाँच सय दर्शक क्षमताको तीन तले प्यारापिट निर्माण हुने भएको हो। यसको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शनिबार शिलान्यास गरे। आगामी माघ महिनाभित्रमा निर्माण पूरा गर्ने लक्ष्यका साथ प्यारापिट निर्माण तीव्रगतिमा अघि बढ्ने विष्टले जनाए।

आफ्नै गृहनगरमा विष्टले यसअघि रंगशालामा तेक्वान्दो भवन, ब्याडमिन्टन कोर्ट, भलिबल एकेडेमी, उसु, कराते भवन, टेबल–टेनिसलगायतका खेलकुदका पूर्वाधार निर्माणमा योजना भित्र्याइसकेका छन्।

शिलान्यास कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले नगरपालिकाले खेलकुदमा बजेट छुट्याउन नसकेको अवस्थामा राखेपले विभिन्न योजना भित्र्याएर ठूलो काम गरेको बताए।

प्रकाशित: २९ वैशाख २०७६ ०५:४८ आइतबार

इटहरी_रंगशालामा भिआइपी_प्यारापिट