खेल

निर्माणधिन पुर्वाधारले खेलाडीलाई सास्ती, अस्तव्यस्त पुर्वाधार, अन्यौलमा प्रतियोगिता

क्याप्सनः लाइट अभावमा शुक्रबार प्रतियोगिता हुन नसकेको सुटिङ रेन्ज। तस्विरः नागरिक

बाँके - आठौ राष्ट्रिय खेलकुदको सुटिङ प्रतियोगिता शुक्रबार सुरु हुने तय थियो। प्रतियोगिता हुने स्थल नेपालगन्ज रंगशाला कभर्डहलसँगै जोडिएको सुटिङ रेन्ज हो। शुक्रबार देखि प्रतियोगिता हुने तय भएको सुटिङ रेन्जमा कुनै चलहपहल थिएन। रेन्ज परिसरमा पुग्दा आधा दर्जन अफिसियल कुर्सीमा बसेर कुराकानी गरिरहेका थिए।

प्रतियोगिता कतिबेला सुरु हुन्छ भनेर प्रश्न गर्दा निराश हुदै आफुहरुलाई यस्तो प्रश्न नगर्न अनुरोध गरिरहेका थिए अफिसियल। केहि अफिसियल रिसाएर आयोजकको तयारी प्रति आक्रोश पोखिरहेका थिए। समयमा सुटिङ रेन्जको लाइट, कार्पेट, पंखा जस्ता अत्यावश्यक सामाग्रीको अभाव कारण निर्धारित मितिमा तय गरिएको प्रतियोगिता हुन सकेन। नेपालगन्ज रंगशाला परिसरमा करिब १ करोड लागतमा सुटिङ रेन्ज तयार पारिदैछ। जहाँ २४औ पुरुष र २३औ महिला राष्ट्रिय सुटिङ प्रतियोगिता हुदैछ। शुक्रबारसम्म लाइट जोड्न काम पुरा नभए अहिलकै अवस्थामा भएपनि गर्नु पर्ने बाध्यता भएको सुनाउँदै थिए पुर्व खेलाडी नविन गिरी। उनले भने,‘नेपाली खेलाडीलाई अभावमै खेल्ने बानी परिसक्यो। राष्ट्रिय खेलकुद भनिएको छ। रेन्ज अहिले सम्म खेल्नको लागि तयार भएको छैन।’

विराटनगर निवासी नविनले भने,‘नेपाली खेलकुदका अवस्था देखाउँछ यो व्यवस्थापनले। विराटनगरमा सातौको बेला निर्माण सुरु भएका पुर्वाधार अझै पुरा भएका छैनन। यहाँको अवस्था पनि भोली त्यही हुन्छ। काठमाडौभन्दा बाहिर नेपालगन्ज र विराटनगरमा रेन्ज बन्दैछन। तर पुरा कहिले हुने थाहा छैन।’

नविनका अनुसार सातौलाई लक्षित गरेर विराटनगरमा सफटटेनिस, सुटिङ रेन्ज र क्रिकेट मैदान निर्माण सुरु भएको थियो। त्यसमध्ये सफटटेनिस बाहेक अन्य पुर्वाधारमा प्रतियोगिता आयोजना गर्न सक्ने अवस्था अझै बनिसकेको छैन। नेपालगन्जमा आठौ राष्ट्रिय खेल्न भनेर आएका खेलाडीले विहान ‘ड्राइ फायर’ अभ्यास गरेर मात्र फर्किएको बताउँछन नेपाली सुटिङका मुख्य प्रशिक्षक र प्रतियोगिता आयोजक उपसमिति सदस्य प्रदिप खाती। उनले भने, ‘आज(शुक्रबार) विहान ८ बजे प्रतियोगिता सुरु हुनु पर्ने हो। प्रतियोगिता गर्न प्राविधिक टोली तयार छ। तर रेन्जमा प्रकाशको व्यवस्था छैन। लाइट नहुँदा खेलाडीलार्ई टार्गेट लगाउन अप्ठयारो पर्छ। कार्पेट लगायत अन्य अत्यावश्यक कुरा पनि नहुँदा प्रतियोगिता एक दिन ढिला सरेको छ। अब भोली सम्म बन्छ कि बन्दैन भन्ने टुङ्गो छैन।’

आठौ राष्ट्रिय खेलकुद अन्तर्गतको सुटिङमा एपिएफ र एनआरएन बाहेक अन्य टोलीले भाग लिएका छन। सात प्रदेश, नेपाल पुलिस र आर्मीका गरी ६५ खेलाडीले नेपालगन्ज सुटिङ रेन्जमा प्रतिस्पर्धा गर्नेछन। आयोजक टोली प्रदेश नम्बर ५ का सिनियर खेलाडी बदरुदिन अन्सारी एक पटक पनि अभ्यास नगरेर आठौ राष्ट्रियमा प्रतिस्पर्र्धा गर्न लागेको बताउँछन। सुटिङको दोस्रो साफ च्याम्पियनसिपका कास्य पदक विजेता अन्सारीले भने,‘रेन्ज तयार नहुँदा अभ्यास गर्न पाइएन। अब जस्तो भएपनि आफनो प्रदेशमा प्रतियोगिता भैरहेको छ। त्यसमा खुसी हुनु पर्छ। पदक जित्न अभ्यास गतिलो हुनु पर्छ। रेन्ज नभएपछि अभ्यास कहाँ गर्ने।’

तत्कालिन मध्यपश्चिम र अहिले प्रदेश नम्बर ५ मा भैरहेको आठौ राष्ट्रिय खेलकुद पुर्वाधार निर्माण नसकिदै आयोजना गरिदा ब्यवस्थापन अस्तव्यस्त देखिएको छ। राष्ट्रिय खेलकुदमा समावेश गरिएको ३५ खेल मध्ये गल्फ काठमाडौ र प्याराग्लाइडिङ कास्कीमा हुदैछ। अन्य ३३ खेल ५ नम्बर प्रदेशको बर्दिया, बाँके, दाङ र रुपन्देहिमा आयोजना भैरहेका छन। त्यसमध्ये १४ खेल सकिसकेको छ। प्रतियोगिता आयोजना गर्ने स्थल तयार नभएका कारण आठौ सुटिङ जस्तै अन्य खेल पनि प्रभावित भएको बताउँछन बाँके जिल्ला पौडी संघ अध्यक्ष गोवद्र्धन सिह सम्झना।

रंगशाला परिसरमै रहेको पौडी पोखरीको निर्माण कार्य अझै सकिएको छैन। प्रतियोगिता उद्घाटन हुने दिन सम्म प्राविधिकहरुले पोखरीमा टायल जोडन काम गरिरहेका थिए। यसै बर्दियामा सेपाताक्रो मैदान नबन्दा प्रतियोगिता आयोजनामा समस्या देखिएको छ। दाङमा आयोजना भैरहेको प्रतियोगिता पनि पुर्वाधार कारण प्रभावित भैरहेको छन।

आठौ अन्तर्गत पौडी प्रतियोगिता आइतबार गर्ने तय छ। नेपालगन्जमा बनिरहेको पौडी पोखरी ९ वर्ष अघि शिलान्यास भएको हो। युवराज लामा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव भएकोबेला पौडी पोखरी निर्माण कार्य सुरु भएकको हो।  अहिलेको अवस्थामा आइपुग्दा सम्म १५ करोड रकम खर्च भैसकेको बताउँछन क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ अध्यक्ष भीम ओली। प्रकाश कारण शुक्रबार सुटिङ प्रतियोगिता सुरु हुन नसकेको ओलीले बताए।

सुटिङ रेन्ज मात्र होइन आठौलाई लक्षित गरेर निर्माण भैरहेको अधिकाश पुर्वाधार निर्माण सकिएको छैन। हतारमा आठौ राष्ट्रिय गरिदा आयोजकलाई प्रतियोगिता स्थल व्यवस्थापन गर्न हम्मे हम्मे परिरहेको छ।

रंगशाला परिसरमै रहेको पौडी पोखरीमा अवस्था पनि सुटिङको जस्तै छ। प्रतियोगिता लागि पौडी पोखरी बन्न चुनौति देखिएको छ। आइतबार प्रतियोगिता गर्ने भनिएको पौडी पोखरीमा प्राविधिकहरु पानी हाली रहेका थिए। केहि कामदारहरु पौडी पोखरीको प्यारापिटमा प्लास्टर गरिरहेका थिए। प्रतियोगिता गर्न दुई दिन बाँकी रहँदा पौडी पोखरी प्रतियोगिताको लागि तयार हुने छाट थिएन। स्रोतका अनुसार आयोजक राखेपले प्रतियोगिता नेपालगन्जको एक निजि होटलमा सार्ने तयारी गरिरहेको छ।

बाँके अध्यक्ष सिह भन्छन, ‘आठौ होइन त्यसअघि नै पौडी पोखरी तयारी हुनु पर्ने हो। एक वर्ष अघि पोखरी खनेको हो। तर एक वर्ष सम्म पोखरीमा भ्यागुताले खेले। नेपालीको चलन नै भैसक्यो। जब प्रतियोगिता नजिकिन्छ अनि हतारमा काम गर्ने। यसमा सम्बन्धित निकायले ध्यान नदिएर समयमा बन्न नसकेको हो।’
 प्रतियोगिता गर्न प्राविधिक टोली तयार छ। तर रेन्जमा प्रकाशको व्यवस्था छैन। लाइट नहुँदा खेलाडीलार्ई टार्गेट लगाउन अप्ठयारो पर्छ। कार्पेट लगायत अन्य अत्यावश्यक कुरा पनि नहुँदा प्रतियोगिता एक दिन ढिला सरेको छ। अब भोली सम्म बन्छ कि बन्दैन भन्ने टुङ्गो छैन।’
आठौ होइन त्यसअघि नै पौडी पोखरी तयारी हुनु पर्ने हो। एक वर्ष अघि पोखरी खनेको हो। तर एक वर्ष सम्म पोखरीमा भ्यागुताले खेले। नेपालीको चलन नै भैसक्यो। जब प्रतियोगिता नजिकिन्छ अनि हतारमा काम गर्ने। यसमा सम्बन्धित निकायले ध्यान नदिएर समयमा बन्न नसकेको हो।’

प्रकाशित: ७ वैशाख २०७६ ०३:४५ शनिबार

आठौ_राष्ट्रिय_खेलकुद सुटिङ नेपालगन्ज_रंगशाला