खेल

भलिबलमा आर्मीका दुवै टोली विजयी

बाँके - त्रिभुवन आर्मी क्लबले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत भलिबल प्रतियोगिताको पुरुष र महिला दुवैमा बुधबार जित हात पारेको छ। खजुरास्थित भलिबल एकेडेमीमा भएको पहिलो दिनको खेलमा आर्मीको पुरुष टोलीले प्रदेश–२ लाई र महिला टोलीले कर्णाली प्रदेशलाई हराउँदै विजयी सुरुआत गरेका हुन्।

समूह ‘ए मा रहेको आर्मीको पुरुष टोलीले प्रदेश–२ लाई २५–१५, २५–९ र २५–९ ले हरायो। सोही समूहको अर्को खेलमा गण्डकी प्रदेशले  प्रदेश–३ लाई ३०–२८, २५–१६ र २५–१८ ले हराउँदै विजयी सुरुआत ग-यो। पाँच टोलीको रहेको समूह ‘ए’ कर्णाली प्रदेशले शुक्रबार खेल्दै छ। समूह ‘ख’ का खेलमा एपिएफले प्रदेश–१ लाई २५–१५, २७–२५ र २५–१५ तथा नेपाल पुलिसले प्रदेश–५ लाई २५–१७, २५–२१ र २५–१७ ले हराउँदै विजयी सुरुआत गरेका छन्। पाँच टोली रहेको उक्त समूहमा सुदूरपश्चिम छ।

महिलाततर्फको समूह ‘ख’ का खेलमा आर्मीले कर्णालीलाई २५–५, २५–९ र २५–१० तथा गण्डकीले प्रदेश–२ लाई २५–६, २५–७ र २५–९ ले स्तब्ध बनाए। सो समूहको प्रदेश–३ ले खेल्न बाँकी रहेको प्रतियोगिताका रेफ्री संयोजक गौतम लासिवाले जानकारी दिए। महिलाकै समूह ‘ए’ का खेलमा पुलिसले प्रदेश–१ लाई २५–१३, २५–११ र २५–११ ले तथा प्रदेश–५ ले सुदूर पश्चिमलाई २५–२३,२५–११ र २५–२९ ले हराए। उक्त समूहको एपिएफले खेल्न बाँकी छ।

हक्कीमा आर्मीलाई उपाधि
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हक्कीमा नेपाल आर्मी च्याम्पियन बनेको छ। नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको फाइनलमा बुधबार आर्मीले हक्कीमा पहिलो पटक टिम सहभागी गराएको पुलिसलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित गर्दै उपाधि जितेको हो।
त्यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो। प्रतियोगितामा ९ टिम सहभागी थिए।

महिलामा प्रदेश ७ र गण्डकी प्रदेशबीच उपाधि भिडन्त हुने भएको छ। प्रदेश ७ ले प्रदेश २ लाई ५–१ गोलले पाखा लगायो। विजेताका अन्जु गुरुङ र अनिता श्रेष्ठले २÷२ तथा दमरा भट्टले १ गोल गरे। प्रदेश २ बाट मधुकुमारीले सान्त्वना गोल फर्काइन्। अर्को सेमिफाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले हरायो। प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ।

बास्केटबल: आर्मी र प्रहरीलाई उपाधि
दाङ, वैशाख ४ (नागरिक)– आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बास्केटबल पुरुषमा आर्मी र महिलामा प्रहरी च्याम्पियन बनेका छन्। पुरुष र महिला दुवै विधाको फाइनलमा प्रदेश नम्बर ३ निराश बन्यो। फाइनलमा आर्मीले प्रदेश ३ लाई ७६–५८ को स्कोरमा हराएको हो। आर्मीका रामकृष्ण घतानेले सर्वाधिक २३ अंक जोडे। प्रहरीले प्रदेश ४ लाई ७४–५४ ले हराउँदै तेस्रो भयो।

त्यस्तै महिलाको उपाधि भिडन्तमा प्रहरीले प्रदेश ३ लाई ४५–२९ ले पाखा लगायो। पुलिसकी अनुषा मल्लले १३ स्कोर गरिन्। आर्मीले सुदुरपश्चिमलाई ५१–३९ को स्कोरमा हराउँदै तेस्रो स्थानमा चित्त बुझायो।

गल्फ: टंक र प्रतिभालाई स्वर्ण
काठमाडौं, वैशाख ४ (नागरिक)– यता गल्फमा टंकबहादुर कार्की र प्रतिभा राईले स्वर्ण जितेका छन्। व्यक्तिगत स्पर्धाको पुरुषमा टंक र महिलामा प्रतिभा पहिलो भएका हुन्।  पुरुषतर्फ गोकर्ण गल्फ क्लबमा भएको खेलमा शुक्रबहादुर राई दोस्रो तथा निरज तामाङ तेस्रो भए। महिलामा कश्मिरा शाहले रजत तथा तारा कार्कीले कांस्य जिते। शीर्ष तीन स्थान हात पार्ने पुरुष खेलाडी प्रदेश ४ तथा महिला खेलाडी प्रदेश ३ का हुन्।

कबड्डी: आर्मीलाई दोहोरो उपाधि
बर्दिया, वैशाख ४ (नागरिक)– कबड्डीको पुरुष÷महिला दुवै विधाको उपाधि आर्मीले जितेको छ। बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको पुरुष फाइनलमा आर्मीले प्रदेश ५ लाई ४२–२१ ले पराजित ग¥यो। त्यस्तै महिलातर्फ आर्मीले  फाइनलमा अर्को विभागीय टोली प्रहरीलाई ३६–२१ ले हरायो।

बुद्धिचाल: पुरुषोत्तम च्याम्पियन
बर्दिया, वैशाख ४ (नागरिक)– बुद्धिचालको खुलामा प्रहरीका पुरुषोत्तम चौलागाईं पहिलो भए। प्रहरीका मनीष हमाल दोस्रो तथा आर्मीका सचिन महर्जन तेस्रो भए। नौं चरणको खेलमा तीनै खेलाडीले समान ७÷७ अंक जोडे पनि हेड टु हेडका आधारमा शीर्ष तीन स्थान छुट्ट्याइएको हो। महिलातर्फ आर्मीकी सिन्दिरा जोशी दोस्रो तथा प्रदेश १ की कृपा अधिकारी तेस्रो भए। आर्मीकी सृजना लोहनीले यसअघि मंगलबार नै एक खेलअगावै स्वर्ण पक्का गरिसकेकी थिइन्। बुधबार नवौं चरणमा पनि जित हात पार्दै सुजनाले शतप्रतिशत जित निकालिन्।

कुशलको उत्कृष्ट प्रदर्शन
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भैरहवामा बुधबारबाट सुरु भएको क्रिकेटको समूह ‘क’ को खेलमा नेपाल पुलिसले प्रदेश नं ५ लाई ६२ रनले निराश पा-यो। टस जितेर ब्याटिङ गरेको पुलिसले कुशल भुर्तेलको ५५ रन मद्दतमा २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ७१ रनको योगफल प्रस्तुत गरेको थियो। जबाफमा प्रदेश ५ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८ रन मात्र जोड्न सक्यो। यसै गरी बुधबार नै भएको दोस्रो खेलमा विभागीय टोली एपिएफले सुदूर पश्चिमलाई  ३ विकेटले हरायो। टस जितेर ब्याटिङको गरेको सुदूर पश्चिमले  १८.३

ओभरमा सबै विकेट गुमाउदै ८१ रन बनायो। एपिएफले १९ ओभरमा ७ विकेट गुमाउदै ८२ रनको विजयी लक्ष्य भेट्टाएको थियो। उता कोहलपुरमा भएको खेलमा बुधबार प्रदेश ३ र विभागीय त्रिभुवन आर्मी क्लब विजयी भएका छन्। कोहलपुर क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ९ रनले पराजित गरेको हो। १ सय २६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको कर्णालीले ६ विकेट गुमाउँदै १ सय १६ रन जोड्न सफल भएको थियो। अर्को खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। आर्मीले प्रदेश २ लाई डकवर्थ लुइस पद्धतिद्वारा ८ विकेटले पराजित गरेको हो। मौसम खराबीका कारण २० ओभरको खेल १९ ओभरमा झारिएको थियो।  पहिले ब्याटिङ गरेको प्रदेश २ ले ६ विकेटको क्षतिमा ७४ रन बनायो। आर्मीले १४.३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य भेटायो।

महिला क्रिकेट: प्रदेश १ र २ को विजयी सुरुआत              
लमही, दाङ वैशाख ४ (नागरिक) क्रिकेटको  महिलातर्फ प्रदेश नम्बर १ र २ ले विजयी सुरुआत गरेका छन्। ७१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १४ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाउँदा प्रदेश नम्बर ५ माथि ७ विकेटको जित निकाल्न सफल भएको हो।

यसै गरी बुधबार सम्पन्न दोस्रो खेलमा २ नं प्रदेशले गण्डकी प्रदेशमाथि ६२ रनले जित हासिल गरेको छ। टस हारेर पहिला ब्याटिङ गरेको प्रदेश नम्बर २ ले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ३५ रन बनाउन सफल थियो भने जबाफी ब्याटिङ गरेको गण्डकीले २० ओभरको  समाप्तिमा मात्र ७३ रन जोड्न सफल भएको थियो।

पुरुष फुटबलः आर्मी र एपिएफको विजयी सुरुआत
 विभागीय टोलीद्वय त्रिभुवन आर्मी र सशस्त्र प्रहरीबलको एपिएफ क्लबले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा बुधबार विजयी सुरुआत गरेका छन्। खजुराको डी गाउँमा बुधबार भएको खेलमा एपिएफले प्रदेश १ लाई ६–३ गोल अन्तरले पराजित गरेको हो। यस्तै त्रिभुवन आर्मीले प्रदेश नम्बर २ लाई ५–० ले हराउँदा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ३–० ले स्तब्ध पा¥यो। पुरुष फुटबलअन्तर्गत बुधबारै सम्पन्न अर्को खेलमा प्रदेश नम्बर ५ ले गण्डकी प्रदेशलाई २–१ ले स्तब्ध बनायो।

महिला फुटबलः एपीएफ र गण्डकी विजयी
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत कपिलवस्तुमा सम्पन्न महिला फुटबलमा एफिएफ र गण्डकी प्रदेशले विजयी सुरुआत गरेका छन्। कपिलवसतुको बाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा सम्पन्न खेलमा  एपीएफले  प्रदेश नम्बर १ लाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो। एपिएफको जितको राष्ट्रिय खेलाडी सावित्रा भण्डारीले एक्लैले चार गोल गरिन् भने अनिता बस्नेतले दुई गोल गरिन्। बुद्ध रंगशालामा बुधबार बिहानबाट सुरु भएको खेलमा कर्णाली प्रदेशलाई ४–० ले हराउँदै गण्डकीले विजयी सुरुआत ग-यो।

प्रकाशित: ५ वैशाख २०७६ ०३:१३ बिहीबार

त्रिभुवन_आर्मी_क्लब आठौं_राष्ट्रिय_खेलकुद भलिबल आर्मी