खेल

सोल्सजायर युनाइटेडको मुख्य प्रशिक्षक

लन्डन – म्यानचेस्टर युनाइटेडले ओले गनर सोल्सजायरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। युनाइटेडले बिहीबार अन्तरिम प्रशिक्षक सोल्सजायरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

डिसेम्बरमा तत्कालीन प्रशिक्षक जोजे माउरिन्हो बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकमा नियुक्त भएका सोल्सजायरको आगामनपछि युनाइटेडले १९ खेलमा १४ खेल जितेको छ। त्यस्तै उनकै प्रशिक्षणमा युनाइटेडले पेरिस सेन्ट जर्मनलाई निराश पार्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल स्थान पक्का गरेको थियो।

युनाइटेडका पूर्वखेलाडीसमेत रहेका सोल्सजायरले टोलीका लागि ३ सय ६६ खेल खेल्दै १ सय २६ गोल गरेका थिए। १९९९ मा सोल्सजायरले अन्तिम मिनेटमा गोल गर्दा युनाइटेडले च्याम्पियन्स लिगको उपाधि जितेको थियो। जुन समय युनाइटेडले तेहेरो उपाधि जितेको थियो।

‘युनाइटेडको खेलाही हुनु र यहींबाट प्रशिक्षक जीवनको यात्रा थालनी गर्नु मेरा लागि विशेष उपलब्धि हो।’

उनको आगमनपछि युनाइटेडले इङ्लिस प्रिमियर लिगमा आफूलाई शीर्ष ४ को प्रतिद्वन्द्वीका रूपमा उभ्याएको थियो। युनाइटेडले अर्को महिना च्याम्पियन्स लिगको अन्तिम आठमा बार्सिलोनाको सामना गर्दै छ।

‘मैले प्रशिक्षण सम्हालेको पहिलो दिनबाटै युनाइटेडमा घरेलु वातावरण पाएँ,’ सोल्सजायरले क्लबको वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘युनाइटेडको खेलाही हुनु र यहींबाट प्रशिक्षक जीवनको यात्रा थालनी गर्नु मेरा लागि विशेष उपलब्धि हो। मेरा लागि पछिल्लो केही महिना अद्भुत रह्यो र म प्रशिक्षण टोली, क्लब र सबै खेलाडीलाई विशेष धन्यवाद दिन चाहन्छु।’

टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोलाई युनाइटेडको नयाँ प्रशिक्षकको मुख्य दाबेदारका रूपमा हेरिएको थियो। तर सोल्सजायरले अन्तरिम प्रशिक्षकमा नियुक्त भएसँगै युनाइटेडलाई लगताार ६ खेलमा विजयी नतिजा निकाल्दै आफूलाई मुख्य प्रशिक्षकको दाबेदारका रूपमा उभ्याएका थिए।

त्यस्तै माउरिन्होको प्रशिक्षणमा प्रशिक्षक र प्रमुख खेलाडीबीचको सम्बन्धमा आएको चिसोपनाले सधैं चर्चा पाए पनि सोल्सजायरले क्लबका प्रमुख खेलाडीसँगको सम्बन्धमा पनि सुधार गरेका थिए। माउरिन्होले विशेषतः पाउल पोग्बा र मार्कुस रसफोर्डलाई कम अवसर दिनुका साथै उनीहरूको क्षमतामा सधैं प्रश्न उठाएका थिए। तर सोल्सजायरले आफूलाई सफल प्रशिक्षकका रूपमा उभ्याउन पोग्बा र रसफोर्ड टोलीका प्रमुख खेलाडी रहँदै आएका छन्।

‘प्रदर्शन र नतिजाभन्दा पनि ओले गनर सोल्सजायर अनुभवले खारिएका व्यक्ति हुन्, खेलाडी र प्रशिक्षक दुवै पक्षमा। सोल्सजायरले युवा खेलाडीलाई सधैं प्राथमिकतामा राख्छन्। त्यो नै उनको विशेषता हो,’ युनाइटेडका कार्यकारी उपाध्यक्ष इड उडवार्डले भने। सर एलेक्स फर्गुसनको प्रशिक्षणमा ११ सिजन खेलाडीको रूपमा ओल्ड ट्राफोर्डमा बिताएका सोल्सजायरले क्लबबाट ६ पटक इङ्लिस प्रिमियर लिग र १ पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

प्रकाशित: १५ चैत्र २०७५ ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App