खेल

मल्ललाई कारबाही

काठमाडौं - धनगढी प्रिमियर लिग (डिपिएल) को टेक्निकल कमिटीले काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ललाई कारबाही सुनाएको छ । 

आफ्ना खेलाडी प्रतिबन्धित गरेको भन्दै धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलको दोस्रो क्वालिफायर खेल बहिष्कार गरेको काठमाडाैं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ललाई ४ खेलको निलम्बन सजाय सुनाएको हो । काठमाडौं गोल्डेन्सका बलर अंकित दवासलाई बलिङमा प्रतिबन्ध लगाएपछि काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडसँगको दोस्रो क्वालिफायर खेल बहिष्कार गरेको थियो । जसका कारण टोली मैदानमा पुगेन । 

सोही विषयलाई लिएर डिपिएल सकिएको करिब २ सातापछि बसेको टेक्निकल कमिटीले मल्ललाई यस्तो सजाय सुनाएको हो । अब उनले ४ वटा घरेलु प्रतियोगिताका खेल गुमाउने भएका छन् । सो खेलमा काठमाडौं अनुपस्थित भएपछि महेन्द्रनगर सोझै फाइनलमा पुगेको थियो । 

मल्लले आफूमाथि लागेको कारबाही स्वीकार पनि गरेका छन् । ‘आयोजकले सुनाएको कारबाही स्वीकार्य छ । कुनै पनि खेलको अनुशासनलाई मान्य खेलाडी हुँ,’ मल्लले भने, ‘बलरमाथि लगाएको प्रतिबन्धबारे हामीले पनि केही स्पष्टीकरण माग गरेका थियौं, सबै बाहिर आएन ।’ मल्लले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको प्रदेशस्तरीय छनोट चरणका ४ खेल गुमाउने भएका छन् । 

 

प्रकाशित: २४ फाल्गुन २०७५ ०२:४९ शुक्रबार

डिपिएल ज्ञानेन्द्र_मल्ल कारबाही