खेल

एन्फाभित्र चरम आर्थिक अनियमितता  : घले

अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ अध्यक्ष टासी घले

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ अध्यक्ष टासी घलेले कर्माछिरिङ शेर्पा नेतृत्वले फिफाबाट फुटबल विकासमा लागि प्राप्त गरेको रकममा व्यापक अनियमितता गरेको आरोप लगाएका छन्।

घलेले सोमबार पत्रकार सम्मेलन गर्दै परिवर्तनको नाराका साथ नेतृत्वमा आए पनि हालसम्म उनीहरूले कुनै सम्झनलायक काम गर्न नसकेको बताएका हुन्।

‘फिफाबाट फुटबल विकासका लागि २२ लाख डलर प्राप्त भएको छ। एन्फाको वर्तमान नेतृत्वले फिफालाई भ्रममा राख्दै विभिन्न बहानामा उक्त रकम खर्चिरहेको छ,’ घलेले भने, ‘एन्फा मुख्यालयमा हाल मर्मत कार्य जारी छ। जसका लागि टेन्डर नै पास नगरी ३ करोडमध्ये डेढ करोड निकासा गरिसकिएको छ। त्यस्तै रौतहटमा पनि वन विभागको स्वीकृतिबिनै मैदान निर्माण कार्य सुरु गरियो। यो झारो टार्ने काम देखाउँदै विकासका लागि आएको रकम पचाउने काम मात्र हो।’

‘विभिन्न ४ फुटबल संघका अध्यक्षले एन्फा नेतृत्वले चरम आर्थिक अनियमितता गरेको भन्दै छानबिनको माग गरिरहेका छन्। त्यसमा निष्पक्ष छानबिन हुन आवश्यक छ,’ घलेले भने।

घलेले निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठको नेतृत्वमा नै फुटबलमा योगदान पुर्‍याउने व्यक्तिको सम्मानका लागि मानार्थ अध्यक्षको व्यवस्था गरिएको र वर्तमान नेतृत्वमा पनि सोही व्यवस्था गरिएकाले आफूलाई पदबाट हटाउने एन्फा कार्यसमितिको निर्णय हास्यास्पद भएको बताए।

काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ फुटबल संघका अध्यक्षले एन्फा निर्वाचनमा आर्थिक अनियमितता भएको भन्दै अडियो टेप सार्वजनिक गरेका थिए। अडियो टेपमा घलेको आवाज सुनिएको थियो। अडियो टेप सार्वजनिक भएलगत्तै एन्फा कार्र्यसमिति बैठकले घलेलाई मनार्थ अध्यक्षबाट हटाएको थियो। घलेले एन्फा कार्यसमिति बैठकको निर्णयविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका थिए। घलेको रिटमा केही दिनअघि न्यायाधीश केशवराज जोशीको इजलासले विधानमा मानार्थ अध्यक्ष हटाउने कुनै विधान नभएकाले अर्को निर्णय नभएसम्मका लागि उक्त निर्णय तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको थियो।

‘मानार्थ अध्यक्ष सम्मानित पद हो। त्यसैले यो कसैले हटाएर हट्ने पद होइन,’ घलेले भने, ‘मैले नेतृत्व बलियो भयो भने परिणाममुखी काम गर्न सकिन्छ भनेर कर्माछिरिङको प्यानललाई साथ दिएको थिएँ।। एन्फाले फिफा कंग्रेसमा विदेशी नागरिक नवीन पाण्डेलाई पठाउने निर्णयको मैले सुरुमै विरोध गरेको थिएँ। पदाधिकारी मनोनयमा पनि व्यापक अनियमितता भएको छ। खेलाडी हुँदा होस् वा प्रशिक्षक हँुदा दुवै जिम्मेवारीबाट नेपाली फुटबलमा योगदान गरेका राजुकाजी शाक्यलाई हटाएर आफ्नो नजिकको मान्छेलाई ल्याइयो। यसमा पनि छानबिन हुन आवश्यक छ। पहिलो बैठकमा कुनै निर्णय गरिएको थिएन। तर भोलिपल्ट विधानमै नभएको मनोनित सह महासचिव घोषणा गरियो।’

‘एउटा घरमा बुबाले शासन चलाएको र सो शासनबाट आजित भएर छोराहरूले नेतृत्वमा हत्याएको जस्तै भएको छ वर्तमान एन्फा नेतृत्व,’ व्यङ्ग्य गर्दै घलेले भने, ‘गणेश थापा २० वर्ष नेतृत्वमा हुँदा एन्फाभित्रै रहेका धेरै साथीहरू अहिले पनि पनि हुनुहुन्छ। त्यसैले अहिले एन्फामा सबै पदाधिकारी शक्ति हत्याउन लागिपरेका छन्।’

घेलेले आफू नेपाली फुटबल विकासको पक्षमा रहेकाले एन्फामा हुने अनियमितताको बारेमा सधैं विरोध गर्ने बताए।‘फिफाबाट फुटबल विकासका लागि २२ लाख डलर प्राप्त भएको छ। एन्फाको वर्तमान नेतृत्वले फिफालाई भ्रममा राख्दै विभिन्न बहानामा उक्त रकम खर्चिरहेको छ।’

प्रकाशित: १४ फाल्गुन २०७५ ०३:२० मंगलबार

एन्फा अनियमितता टासी_घले