खेल

एपिएफलाई वर्षको आठौं उपाधि

काठमाडौं – विभागीय टोली एपिएफले बुधबार पर्वतको कुस्मामा सम्पन्न दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ। 

कुस्माको शिवालयस्थित बर्सपार्कको कोर्टमा भएको फाइनल खेलमा होङ्गान्जी न्यु डायमन्डलाई ३–१ सेटमा पराजित गर्दै साबिक विजेता एपिएफले उपाधि रक्षा गरेको हो। 

विभागीय टोली त्रिभुवन आर्मीमाथि संघर्षपूण जित निकाल्दै फाइनल प्रवेश गरेको न्यु डायमन्ड एपिएफविरुद्ध खुलेर खेल्न सकेन। पहिलो सेटमा १८–२५ को नतिजा सुम्पिएको न्यु डायमन्डले निकै प्रतिस्पर्धात्मक दोस्रो सेट २४–२६ ले गुमायो। तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै पुनरागमनको संकेत गरे पनि चौथो सेटमा २१–२५ को नतिजा निकाल्दा पराजित हुन पुग्यो। 

जारी सिजनमा आठौं उपाधि जितेको एपिएफले नगद २ लाख रुपैयाँ हात पार्‍यो। उता उपविजेतामा खुम्चिएको न्यु डायमन्डले १ लाख रुपैयाँमा चित्त बुझायो। 

सम्पन्न प्रतियोगितापछि एपिएफले २०७५ मा आठौं उपाधि जित्न सफल भएको छ। २०७५ सालमा भएका नौ प्रतियोगितामध्ये एपिएफले आठ प्रतियोगितामा बाजी मारेको हो। काठमाडौंमा भएको 
आधीआवादी प्रतियोगितामा विदेशी खेलाडी सम्मिलित चितवन टाइग्रेसले फाइनलमा एपिएफलाई उपविजेतामा खुम्च्याएको थियो।

एपिएफले यसअघि सम्पन्न शेरबहादुर प्रतिष्ठानको आयोजना भएको प्रतियोगिता, पोखराको लामाचौरमा सम्पन्न राष्ट्रिय भलिबल प्रतियोगिता, न्यु डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता, एनभिए लिग, बागगुङमा सम्पन्न २२औं राष्ट्रिय महिला च्याम्पियनसिप, रोल्पाको लिवाङमा भएको प्रथम र पोखरामा सम्पन्न भएको सभामुख कप महिला राष्ट्रिय भलिबलको उपाधि जितेको थियो। 

यस्तै तेस्रो स्थानका लागि बुधबारै सम्पन्न अर्को खेलमा नेपाल पुलिसले आर्मीमाथि ३–१ को जित निकाल्दै तेस्रो स्थान पक्का गर्‍यो। पहिलो सेट २२–२५ ले गुमाएको पुलिसले बाँकी सेटमा पुनरागमन गर्दै जित निकाल्न सफल भएको हो। २५–१८ को जित निकालेको पुलिसले तेस्रो सेटमा भने ३१–२९ को संघर्षपूर्ण जित निकालेको थियो। चौथो सेटमा पनि लयलाई निरन्तरता दिँदा पुलिस २५–१६ ले विजयी भयो। तेस्रो बनेको पुलिसले नगद ५० हजार पुरस्कार प्राप्त गर्‍यो।

तीन विभागीय टोली त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिससँगै होङ्गान्जी न्यु डायमन्ड, पश्चिमाञ्चल र आयोजक गरी ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी बनिन्। उता उत्कृष्ट विधाको उपाधिमा भने न्यु डायमन्डका खेलाडीको वर्चस्व रह्यो। प्रतिभा माली उत्कृष्ट स्पाइकर बन्दा, उत्कृष्ट सेटर अनिषा सुनुवार, उत्कृष्ट ब्लकर ललिता नाथ, उत्कृष्ट डिफेन्डर सलिना श्रेष्ठ र उत्कृष्ट सर्भर झरना श्रेष्ठ घोषित भए। उपाधि विजेता टोलीका प्रशिक्षक ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए।  सर्वोत्कृष्ट सरस्वतीले नगद १० हजार रुपैयाँ प्राप्त गरिन् भने अन्य विधाका उत्कृष्ट खेलाडीले नगद ५/५ हजार रुपैयाँ हात पारे। 

प्रकाशित: २ फाल्गुन २०७५ ०२:४९ बिहीबार

पर्वत राष्ट्रिय_महिला_भलिबल