खेल

हिरो गोल्डकपमा नेपाल इरानसँग भिड्दै

काठमाडौं – भारतको भुवनेश्वकरमा जारी हिरो गोल्डकपअन्तर्गत बुधबार लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ। खेल उडिसास्थित कालिङ्गा रङ्गशालामा दिउँसो ४ बजे शुरु हुनेछ।

जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले ३ अंक जोडेको छ। आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष दुईमा पर्दै फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा अर्को खेलको नतिजा कुर्नुपर्नेछ।

आजै हुने खेलमा म्यानमार र भारत पनि प्रतिस्पर्धा गर्दैछन्। यो खेल बराबरी खेलेमा वा म्यानमारले भारतलाई हराएमा वा भारतले थोरै गोलअन्तरमा म्यानमारलाई हराएमा नेपाल फाइनल पुग्ने सम्भावना बढी हुन्छ।

यस्तै म्यानमारले भारतलाई हराएर सानो गोलअन्तरका आधारमा इरानसँग हारेमा पनि नेपाल फाइनल पुग्न सक्छ। चार टोली आयोजक भारत, इरान, नेपाल र म्यान्मा सहभागी प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्।

दुई चरणका खेल समाप्त हुँदासम्म म्यान्मा दुवै खेल जित्दै छ अङ्कसहित शीर्षस्थानमा छ भने नेपाल तीन अङ्कसहित दोस्रो र भारत पनि समान तीन अङ्कसहित तेस्रो स्थानमा छ। इरान अहिलेसम्म अङ्ककविहीन छ।

प्रकाशित: १ फाल्गुन २०७५ ०५:५६ बुधबार

भारत हिरो_गोल्डकप नेपाल इरान