खेल

न्यु डायमन्डलाई होङगान्जीको साथ

काठमाडौं – होङगान्जी बौद्ध समाजले दोस्रो पटक पनि न्यु डायमन्ड कप महिला भलिबल प्रतियोगितालाई साथ दिने भएको छ।  न्यु डायमन्ड एकेडेमीको आयोजनामा आगामी वर्ष हुने तेस्रो संस्कणको प्रतियोगिताको लागि होङगान्जी बौद्ध समाजले मुख्य प्रायोजकको रूपमा साथ दिने भएको हो। तेस्रो संस्करण अर्काे वर्षको पुस अन्तिम साता हुनेछ।

ठमेलमा बुधबार पत्रकार सम्मेलनमार्फत न्यु डायमन्ड र होङगान्जी बौद्ध समाजले दोस्रो पटक सहकार्य गर्ने घोषणा गरेका हुन्। बुधबार न्यु डायमन्ड स्पोर्ट्स एकेडेमीकी अध्यक्ष सुनकेशरी माली र होङगान्जी बौद्ध समाजका कन्ट्री म्यानेजर सोनाम वाङ्दी भुटियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। यस पटक भने प्रायोजन रकम बढेर १५ लाख पुगेको छ। यसअघिको दोस्रो संस्करणमा पनि होङगान्जीले ५ लाख रुपैयाँको मुख्य प्रायोजन गरेको थियो।

सम्झौताअनुसार न्यु डायमन्डले सहभागिता जनाउने प्रतियोगिताहरुमा ‘होङगान्जी न्यु डायमन्ड’ को नामबाट खेल्नेछ। न्यु डायमन्डले आयोजना गर्ने तेस्रो संस्करणको नाम पनि होङगान्जी न्यु डायमन्ड कप महिला भलिबल प्रतियोगिता हुनेछ।  यता, होङगान्जीले भने १५ लाख रुपैयाँ प्रायोजनमध्ये खेल पोसाकका लागि ३ लाख, प्रतियोगिताको नगद पुरस्कारमा ७ लाख र अन्य विविधका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउनेछ।

सम्झौताको अवसरमा मुख्य प्रायोजक होङगान्जीका कन्ट्री म्यानेजर सोनामले समर्थकका रूपमा न्यु डायमन्डले खेलेका प्रतियोगिता हेरेपछि सहकार्य गरेको स्मरण गरे। ‘नेपाली भलिबलमा चर्चित न्यु डायमन्डको साथ पाउनु खुसीको क्षण हो,’ होङगान्जीका कन्ट्री म्यानेजर सोनामले भने, ‘निरन्तर सहकार्यका लागि आगामी वर्षमा पनि न्यु डायमन्डले अवसर दिनेमा विश्वस्त छु।’

क्लबकी अध्यक्ष सुनकेशरी माली र प्रशिक्षक कुमार राईले होङगान्जीको साथमा क्लबले अझै उचो स्तरमा प्रदर्शन गर्ने विश्वस्त गराउँदै सहकार्यका लागि धन्यवाद दिए। नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले होङगान्जीको साथपछि नेपालको राष्ट्रिय खेल भलिबलले स्तरोन्नति गर्ने विश्वास व्यक्त गरे।

तेस्रो संस्करणको प्रतियोगिताको विजेताले नगद ४ लाख १ हजार, उपविजेताले ३ लाख १ हजार, तेस्रो हुनेले २ लाख १ हजार रुपैयाँसहित सिल्ड प्राप्त गर्नेछन्। चौथो हुनेले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७÷७ हजार रुपैयाँसहित ट्रफी पाउनेछन्।

न्यु डायमण्ड एकेडमी विगत ११ वर्षदेखि महिला भलिबल खेलाडीलाई प्रशिक्षण गर्दै उत्कृष्ट खेलाडी उत्पादन गर्दै आइरहेको छ। तर, प्रशिक्षणले मात्रै भलिबल विकासमा पूर्णता नदेखिने हुनाले गत वर्षदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता गर्दै आएको न्यु डायमन्डले उल्लेख गरेको छ। न्यु डायमन्डले आगामी प्रतियोगितालाई अझै स्तरीय बनाउने उल्लेख गरेको छ।

प्रकाशित: १७ माघ २०७५ ०४:५० बिहीबार

होङगान्जी_बौद्ध_समाज न्यु_डायमन्ड_कप_महिला_भलिबल मुख्य_प्रायोजक सम्झौता