खेल

जापान एसिया कपको फाइनलमा, इरानका प्रशिक्षकले दिए राजिनामा

काठमाडौं – एसियाली पावर हाउस जापान एसिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। युएईमा सोमबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा इरानलाई ३–० ले पराजित गर्दै जापान फाइनलमा पुगेको हो।

जापानको जितमा याया ओशाकोले २ तथा जेन्की हारागुचीले १ गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलको दोस्रो हाफमा जापान ३ गोल गर्दै उपाधि नजिक पुग्यो। ५६ औं मिनेटमा ओशाकोले हेडमार्फत गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए।

६७ औं मिनेटमा ओशाकोले पेनाल्टीमा ब्याक्तिगत दोस्रो गोल गरेपछि जापानले अग्रता दोब्बर बनायो। इरानका खेलाडीले डी बक्सभित्र बललाई हातले छोएपछि जापानले पेनाल्टी पाएको थियो। दोस्रो हाफको इन्ज्युरी समयमा हारागुचीले गोल गरेपछि जापान सानदार जितका साथ फाइनलमा प्रवेश गर्यो।

हारपछि इरानका प्रशिक्षक कार्लोस क्वोइरोजले पदबाट राजिनामा दिएका छन्। उनी करिब ८ वर्षदेखि इरानको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक थिए। जापानले अब उपाधिका लागि कतार र घरेलु टोली युएईबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुईबीचको सेमिफाइनल आज साँझ पौने ८ बजे सुरु हुनेछ। जापान एसिया कपको सर्वाधिक सफल टोली पनि हो। जापानले अहिलेसम्म ४ पटक उपाधि जितिसकेको छ। 

प्रकाशित: १५ माघ २०७५ ०५:३५ मंगलबार

एसियाली_पावर_हाउस जापान एसिया_कप_फुटबल फाइनल इरान