खेल

प्रिमियर लिग फुटबलमा युनाइटेडको लगातार छैटौं जित

काठामाडौं – म्यानचेष्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ। जोजे माउरिन्होको बर्खास्तीपछि अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त भएका सोल्सजायरले युनाइटेडको टोली सम्हालेपछि क्लबले लगातार जित निकाल्दै आइरहेको छ।

शनिबार राति वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले ब्राइटनलाई २–१ ले हरायो। युनाइटेडलाई जित दिलाउन पाउल पोग्बा र मार्कुस रास्फोर्डले १–१ गोल गरे। पराजित टोलीका लागि पास्कल ग्रोबले एक गोल फर्काए। २७ औं मिनेटमा पोग्बाको पेनाल्टी गोलमा युनाइटेडले खेलमा अग्रता बनाएको थियो। ४२औं मिनेटमा रास्फोर्डले गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनायो।

पहिलो हाफमा २–० ले पछि परेको ब्राइटनका लागि ७२औं मिनेटमा पास्कलले गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन। जितसँगै २३ खेलबाट ४४ अंक जोडेको युनाइटेड लिगको छैटौं स्थानमा यथावत् छ। समान अंक भएको आर्सनल  पाँचौं स्थानमा छ। पराजित ब्राइटन २६ अंकका साथ १३ औं स्थानमा छ।

प्रकाशित: ६ माघ २०७५ ०६:०९ आइतबार

म्यानचेष्टर_युनाइटेड इङ्लिस_प्रिमियर_लिग ओले_गनर_सोल्सजायर